प्रोटोन ई.मास ७ प्रिमियम प्लसः नयाँ ब्याट्री, नयाँ रेन्ज, नेपालमा नयाँ सम्भावना

मलेसियाको सबैभन्दा ठूलो अटोमोटिभ प्रदर्शनी के.एल.आई.एम.एस २०२६ मा प्रोटोनले आफ्नो लोकप्रिय इलेक्ट्रिक एस.यू.भी. ई.मास ७ को नयाँ टप भेरियन्ट ई.मास ७ प्रिमियम प्लस आधिकारिक रूपमा सार्वजनिक गरेको छ । लामो रेन्ज, थप प्रिमियम फिचर र अपग्रेडेड टेक्नोलोजीसहित आएको यो मोडलले नेपाली बजारमा पनि राम्रो चासो सिर्जना गरेको छ ।

मलेसियामा यसको आधिकारिक मूल्य १ लाख २५ हजार ८ सय रिङ्गिट तोकिएको छ, जुन नेपाली रुपैयाँमा करिब ३७ लाख ७७ हजार रुपैयाँ पर्छ । लन्च अफर अन्तर्गत ७ हजार रिङ्गिट छुटपछि यो गाडी १ लाख १८ हजार ८ सय रिङ्गिट अर्थात करिब ३५ लाख ६७ हजार रुपैयाँमा उपलब्ध भइरहेको छ ।


नेपालमा भने हाल ई.मास ७ को प्राइम भेरियन्ट ४६ लाख ९९ हजार रुपैयाँ र प्रिमियम भेरियन्ट ६७ लाख ९९ हजार रुपैयाँमा बिक्री भइरहेको छ । मलेसियाको तुलनामा नेपालमा मूल्य बढी हुनुको मुख्य कारण उच्च आयात कर, ढुवानी खर्च र लोकल मार्केट स्ट्रक्चर हो ।

ब्याट्री र रेन्जमा ठूलो अपग्रेड

नयाँ ई.मास ७ प्रिमियम प्लसमा ६८.३९ kWh LFP -Lithium Iron Phosphate ब्याट्री प्रयोग गरिएको छ । यसले WLTP साइकिल अनुसार ४५० किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको छ, जुन अघिल्लो प्रिमियम भेरियन्टको ४१० किलोमिटरभन्दा ४० किलोमिटर बढी हो ।

नेपालको हिल र रोड कन्डिसनलाई ध्यानमा राख्दा वास्तविक ड्राइभिङ रेन्ज करिब ३१५ देखि ३३५ किलोमिटरसम्म हुन सक्ने अनुमान गरिएको छ ।


मोटर सेम, तर तौल र परफर्मेन्समा असर

ब्याट्री अपग्रेड भए पनि मोटर सेटअप उही नै रहेको छ । यसले २१८ PS पावर र ३२० NM टर्क जेनेरेट गर्छ । ब्याट्री साइज बढेसँगै गाडीको कर्ब वेट १,८१५ Kg पुगेको छ, जसका कारण ०–१०० km/h­ एक्सेलेरेशन ७.४ सेकेन्डमा पुग्छ, जुन अघिल्लो भेरियन्टभन्दा केही ढिलो हो ।

चार्जिङ सिस्टममा भने कुनै परिवर्तन गरिएको छैन । यसले ११५ kW DC फास्ट चार्जिङ सपोर्ट गर्छ, जसले ३०% देखि ८०% चार्ज केवल २० मिनेटमा गर्न सक्छ । साथै ११ kW AC चार्जिङ पनि उपलब्ध छ ।

प्रिमियम कम्फर्ट र टेक फिचर

यस भेरियन्टमा क्याबिन अनुभवलाई अझ प्रिमियम बनाउने प्रयास गरिएको छ । अगाडिका दुवै सिटमा भेन्टिलेटेड सिट विथ मसाज फङ्सन दिइएको छ भने प्यासेन्जर साइडमा लेग रेस्ट पनि उपलब्ध छ ।

यसका साथै १६–स्पिकर अडियो सिस्टम, हेड–अप डिस्प्ले र सेल्फ–डिमिङ रियर भ्यू मिरर जस्ता फिचर पनि स्ट्यान्डर्ड रूपमा समावेश छन् ।

ADAS सेफ्टी अझ एडभान्स

सुरक्षाका लागि प्रिमियम प्लसमा लेटेस्ट ADAS फिचरहरू थपिएका छन् । यसमा इभेसिभ म्यानुभर असिस्ट, एक्टिभ लेन चेन्ज असिस्ट र फ्रन्ट क्रस ट्राफिक अलर्ट जस्ता सिस्टम समावेश छन् ।

त्यस्तै इन्टेलिजेन्ट क्रुज कन्ट्रोल, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, लेन चेन्ज सेफ्टी वार्निङ र ट्राफिक साइन रिकग्निसन जस्ता फिचरहरू सम्पूर्ण ई.मास ७ लाइनअपमा स्ट्यान्डर्ड रूपमा दिइएका छन् ।

नेपालमा आउने सम्भावना कति ?

नेपालमा ई.मास ७ ले छोटो समयमै राम्रो बजार प्रतिक्रिया पाएको थियो । जगदम्बा मोटर्सले ई.मास ७ लन्च अघि नै यसलाई सातै प्रदेशमा २१ दिनको क्रस–कन्ट्री टेस्ट ड्राइभमा पठाएर यसको परफर्मेन्स देखाइसकेको छ ।

यसअघि विशेष अफर अन्तर्गत ई.मास ७ को मूल्य ५६ लाख ९९ हजार रुपैयाँबाट घटाएर ४६ लाख ९९ हजार रुपैयाँसम्म ल्याइएको थियो, जसले बजार विस्तारमा ठूलो भूमिका खेलेको थियो ।

 अब मलेसियामा प्रिमियम प्लस सार्वजनिक भएसँगै नेपालमा पनि यो भेरियन्ट ल्याउने चर्चा तीव्र बनेको छ । डिलर नेटवर्क विस्तार भइरहेको अवस्थामा नयाँ भेरियन्ट नेपाल ल्याउनु कम्पनीका लागि स्वाभाविक कदम हुन सक्ने अनुमान गरिएको छ ।


अब ई.मास ५ पनि तयारीमा

ई.मास ७ पछि प्रोटोन नेपालले अब ई.मास ५ मार्फत अझ ठूलो बजार टार्गेट गर्ने तयारी गरेको छ । यो मोडल नेपालमा ल्याइसकिएको र आगामी असारको दोस्रो सातातिर लन्च गर्ने तयारी रहेको बताइएको छ ।

ई.मास ५ एउटा कम्प्याक्ट इलेक्ट्रिक ह्याचब्याक हो, जसमा ३०.१२ Kwh र ४०.१६ Kwh ब्याट्री अप्सन छन् । यसले क्रमशः २२५ km र ३२५ km रेन्ज दिन्छ । यसमा ३०% देखि ८०% चार्ज केवल २१ मिनेटमा हुने DC फास्ट चार्जिङ सपोर्ट छ ।

ई.मास ७ र ई.मास ५ को संयुक्त रणनीतिले नेपालको EV बजारमा प्रोटोनको उपस्थिति अझ मजबुत बनाउने अपेक्षा गरिएको छ । प्रिमियम प्लस भेरियन्ट पनि नेपाल आएमा लामो रेन्ज र एडभान्स टेक खोज्ने ग्राहकका लागि यो निकै आकर्षक विकल्प बन्ने निश्चित देखिन्छ ।