भोटेकोशी बाढीबाट रसुवामा व्यापक क्षति, उद्धार र राहतमा सघाउन नाइमाको प्रतिबद्धता
काठमाडौं । भोटेकोशीको उर्लँदो बहावले रसुवाका सीमावर्ती बस्तीमा फेरि त्रास फैलाएको छ । बिहानैदेखि आएको बाढीले जनजीवन अस्तव्यस्त बनाउँदा प्रभावित क्षेत्रको क्षति र सम्भावित जोखिमबारे चिन्ता बढेको छ ।
बाढीले टिमुरे, स्याफ्रुबेँसी तथा रसुवागढी क्षेत्रमा सार्वजनिक पूर्वाधारदेखि निजी सम्पत्तिसम्म ठूलो क्षति पुर्याएको प्रारम्भिक विवरण प्राप्त भएको छ । सडक, पुल, विद्युत् तथा सञ्चार संरचनासँगै सवारीसाधन, बजार क्षेत्र र जलविद्युत् आयोजनासमेत प्रभावित भएका छन् ।
नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन नाइमाले बुधबार विज्ञप्ति जारी गर्दै घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । संस्थाले प्रभावित नागरिक, परिवार, व्यवसायी, सुरक्षाकर्मी तथा स्थानीय समुदायप्रति सहानुभूति प्रकट गरेको हो ।
प्रारम्भिक विवरणअनुसार इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी स्याफ्रुबेँसी र प्रहरी चौकी रसुवागढीका संरचनासमेत बाढीबाट प्रभावित भएका छन् । सरकारी तथा सुरक्षा निकायका अन्य संरचनामा पनि क्षति पुगेको जनाइएको छ ।
घटनाको पूर्ण विवरण आउन बाँकी रहेकाले मानवीय, भौतिक तथा आर्थिक क्षतिको वास्तविक अवस्था अझै स्पष्ट भइसकेको छैन । बाढी प्रभावित क्षेत्रमा आवागमन, विद्युत् आपूर्ति र सञ्चार सम्पर्क अवरुद्ध हुँदा क्षतिको विवरण सङ्कलन तथा उद्धार कार्यसमेत चुनौतीपूर्ण बन्न सक्ने देखिएको छ ।
नाइमाले खोज, उद्धार तथा राहतमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, स्थानीय प्रशासन र अन्य उद्धारकर्मीको भूमिकाप्रति उच्च सम्मान व्यक्त गरेको छ । कठिन भौगोलिक अवस्था र निरन्तर जोखिमबीच उद्धारमा खटिएका टोलीको कामले प्रभावित समुदायलाई तत्काल राहत पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्ने संस्थाले जनाएको छ ।
भोटेकोशी तथा त्रिशूली नदी प्रणालीसँग जोडिएका क्षेत्रमा बाढीको जोखिम कायमै रहन सक्ने भन्दै तल्लो तटीय क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ । रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत सम्भावित प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा रहन तथा सम्बन्धित निकायले जारी गर्ने सूचना र निर्देशन पालना गर्न भनिएको छ ।
रसुवागढी नाका नेपाल–चीन व्यापारसँग जोडिएको प्रमुख स्थलमार्गसमेत हो । बाढीले सडक, पुल र सीमावर्ती बजारका संरचनामा पुर्याएको क्षतिले स्थानीय जनजीवनसँगै ढुवानी, व्यापार तथा सवारी आवागमनमा पनि असर पार्न सक्ने देखिएको छ । यद्यपि यसको समग्र प्रभाव क्षतिको विस्तृत विवरण आएपछि मात्रै स्पष्ट हुनेछ ।
नाइमाले प्रभावित समुदायसँगै रहने प्रतिबद्धता जनाउँदै उद्धार, राहत तथा पुनर्स्थापनाका प्रयासमा सरकारी तथा सुरक्षा निकायसँग आवश्यक सहकार्य गर्न तयार रहेको बताएको छ । संस्थाले जोखिम क्षेत्रमा रहेका नागरिकको सुरक्षा र क्षतिग्रस्त क्षेत्रको शीघ्र पुनर्स्थापनाको कामनासमेत गरेको छ ।