Newad1
Featured blog image

रसुवागढी नाका खोल्न थप चार बेलिब्रिज आवश्यक, स्याफ्रुबेँसीमा जग निर्माण हुँदै

काठमाडौँ । रसुवागढी नाकासम्म सडक सम्पर्क पुनःस्थापना गर्न स्याफ्रुबेँसीमा निर्माणको तयारी भइरहेको पुलबाहेक थप चार बेलिब्रिज आवश्यक पर्ने भएको छ । सडक विभागले तत्काल अस्थायी पुल र सडक ट्र्याकमार्फत नाकासम्म आवागमन जोड्ने कामलाई प्राथमिकता दिएको छ ।

विभागका महानिर्देशक विजय जैसीका अनुसार स्याफ्रुबेँसीस्थित भोटेकोशीमाथि बेलिब्रिज राख्न जग निर्माण भइरहेको छ । उक्त पुल तिहारअघि जडान गर्ने लक्ष्य छ । त्यसपछि स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मका थप चार स्थानमा बेलिब्रिज राख्नुपर्नेछ ।

भदौ १० गतेको बाढीले सडक र पुलमा क्षति पुर्‍याएपछि बन्द नाका पुनः सञ्चालनमा आउने मिति भने तय भएको छैन । स्थायी सडकको मार्ग तथा भन्सार र अध्यागमन कार्यालय राख्ने स्थानबारे पनि निर्णय हुन बाँकी छ ।

आठ सदस्यीय चिनियाँ प्राविधिक टोलीले क्षतिग्रस्त क्षेत्रको अध्ययन गर्ने तयारी गरेको छ । स्थायी सडक पुनर्निर्माणअघि सम्भावित मार्ग र आवश्यक संरचना पहिचान गरिनेछ ।

दीर्घकालीन विकल्पका रूपमा काठमाडौँ–केरुङ रेलमार्गको सट्टा सुरुङ र पुलसहितको एक्सप्रेसवे अध्ययन गर्ने प्रस्तावसमेत छलफलमा छ । यो निर्माण स्वीकृत भइसकेको आयोजना भने होइन ।

footer