Newad1
Featured blog image

तेल बजारमा राहत, नेपाली उपभोक्ताको नजर अब जुलाई १ को मूल्यसूचीमा

काठमाडौं । केही महिनादेखि बढ्दो इन्धन मूल्यको मार खेपिरहेका नेपाली उपभोक्ताका लागि राहतको संकेत देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा इरान–इजरायल तनाव मत्थर भएसँगै कच्चा तेल (क्रुड आयल) को मूल्य युद्ध सुरु हुनुअघिकै स्तरमा झरेको छ । यही पृष्ठभूमिमा अर्थमन्त्री स्वर्णिम वाग्ले ले पनि नेपालमा डिजेल, पेट्रोल र मट्टितेलको मूल्य घट्ने बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा आर्थिक विधेयक, २०८३ माथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले मध्यपूर्वको अवस्था सहज बन्दै गएकाले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटिसकेको बताए । उनले नेपालमा यसको प्रभाव देखिन भने केही समय लाग्ने स्पष्ट पारे ।

उनका अनुसार नेपालले इन्धन भारतीय आयल निगम (आईओसी) मार्फत आयात गर्ने भएकाले अन्तर्राष्ट्रिय बजारमा आएको मूल्य परिवर्तन प्रशोधित इन्धन हुँदै नेपाल आइपुग्न समय लाग्छ । त्यसैले तत्काल मूल्य घटाउने अवस्था नरहे पनि आगामी मूल्यसूचीमा यसको प्रभाव देखिने अपेक्षा गरिएको छ ।

अर्थमन्त्री वाग्लेले युद्धका कारण बढेको मूल्यको असर कम गर्न सरकारले आफू अर्थमन्त्री बनेको दुई साताभित्रै डिजेल, पेट्रोल र मट्टितेलको आयातमा लाग्ने भन्सार महसुल तथा पेट्रोल–डिजेलमा लाग्ने पूर्वाधार विकास करको ५० प्रतिशत छुट दिएको पनि स्मरण गराए ।

जुलाई १ को मूल्यसूची निर्णायक

नेपालमा इन्धनको मूल्य प्रत्यक्ष रूपमा कच्चा तेलको मूल्यका आधारमा नभई भारतीय आयल निगमबाट प्राप्त हुने प्रशोधित पेट्रोलियम पदार्थको मूल्यसूचीका आधारमा निर्धारण हुने गर्छ । त्यसैले आगामी जुलाई १ मा आईओसीले पठाउने नयाँ मूल्यसूचीलाई नेपालमा इन्धनको मूल्य घट्ने–नघट्ने मुख्य आधार मानिएको छ ।

नेपाल आयल निगमका अनुसार युद्धका कारण मध्यपूर्वका केही प्रशोधन केन्द्र प्रभावित हुँदा कच्चा तेलको मूल्य घटे पनि प्रशोधित पेट्रोलियम पदार्थको मूल्य सोही अनुपातमा घट्न सकेको थिएन । अहिले भने कच्चा र प्रशोधित दुवै इन्धनको मूल्य क्रमशः घट्दो क्रममा रहेकाले आगामी मूल्यसूचीबाट केही राहत आउने अपेक्षा गरिएको छ ।

युद्धले बढाएको मूल्यको भार

इरान–इजरायल तनाव चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धन महँगिँदा नेपालमा पनि पटक–पटक मूल्यवृद्धि गरिएको थियो । युद्धअघि प्रतिलिटर १५७ रुपैयाँ रहेको पेट्रोल र १४२ रुपैयाँ रहेको डिजेलको मूल्य उल्लेखनीय रूपमा बढेको थियो । खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिन्डर १,९०० रुपैयाँबाट बढेर २,१६० रुपैयाँ पुगेको थियो ।

बढ्दो लागत तत्काल उपभोक्तामाथि नथोपर्न नेपाल आयल निगमले मूल्य स्थिरीकरण कोष र सञ्चित मुनाफाबाट ठूलो रकम खर्च गरेको जनाएको छ । निगमका अनुसार करिब साढे दुई महिनाको अवधिमा मात्रै करिब ३६ अर्ब रुपैयाँ बराबरको रकम उपयोग गरिएको थियो । त्यसमध्ये १९ अर्ब रुपैयाँ मूल्य स्थिरीकरण कोषबाट र १७ अर्ब रुपैयाँ सञ्चित मुनाफाबाट खर्च गरिएको थियो ।

हाल पनि एलपी ग्यासमा प्रत्येक सिलिन्डरमा एक हजार रुपैयाँभन्दा बढी घाटा भइरहेको निगमको भनाइ छ । पेट्रोल र डिजेलबाट केही नाफा भए पनि त्यसले ग्यासको घाटा पूर्ति गर्न पर्याप्त नरहेको बताइएको छ ।

अब उपभोक्ताको अपेक्षा

विश्वबजारमा कच्चा तेलको मूल्य लगातार घट्दो क्रममा रहनु नेपाली उपभोक्ताका लागि सकारात्मक संकेत हो । तर नेपालमा पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य कहिले र कति घट्ने भन्ने अन्तिम निर्णय भारतीय आयल निगमबाट प्राप्त हुने नयाँ मूल्यसूची र त्यसका आधारमा नेपाल आयल निगम सञ्चालक समितिले गर्ने निर्णयमा निर्भर रहनेछ ।

यद्यपि अन्तर्राष्ट्रिय बजारको पछिल्लो अवस्थाले आगामी दिनमा नेपाली उपभोक्ताले इन्धनको मूल्यमा केही राहत पाउने सम्भावना बलियो बनेको छ ।

footer