रोयल इन्फिल्डको दुर्लभ सटगन ६५० सार्वजनिक, विश्वभर केवल १०० युनिट मात्रै
काठमाडौं । रोयल इन्फिल्डले आफ्नो लोकप्रिय सटगन ६५० को विशेष लिमिटेड एडिसन संस्करण सार्वजनिक गर्दै यसको बुकिङ प्रक्रिया सुरु गरेको छ । चर्चित कस्टम मोटरसाइकल निर्माता रफ क्राफ्ट्स सँगको सहकार्यमा तयार गरिएको यो संस्करण विश्वभर जम्मा १०० युनिट मा मात्रै सीमित रहने कम्पनीले जनाएको छ । तीमध्ये २५ युनिट भारतीय बजारका लागि छुट्याइएको छ ।
यो विशेष संस्करण सन् २०२५ मा आयोजित इआईसीएमए मोटरसाइकल प्रदर्शनीमा पहिलोपटक देखाइएको ‘क्यालिबर रोयाल’ नामक कस्टम मोटरसाइकलबाट प्रेरित भएर तयार गरिएको हो । त्यसपछि यसलाई गोवामा आयोजित मोटोभर्स २०२५ कार्यक्रममा पनि प्रदर्शन गरिएको थियो ।
रोयल इन्फिल्डका हेड अफ कस्टम एन्ड मोटरस्पोर्ट्स एड्रियन जोन सेलर्सका अनुसार यो संस्करणले सटगन ६५० को कस्टम प्लेटफर्ममा आधारित सिर्जनात्मक सम्भावनालाई नयाँ उचाइमा पुर्याएको छ । उनले रफ क्राफ्ट्सको विशेष ब्ल्याक–गोल्ड डिजाइन शैलीलाई उत्पादन मोडलमा उतार्ने प्रयास गरिएको बताए ।
डिजाइनको कुरा गर्दा यो मोटरसाइकलमा ग्लस जेट ब्ल्याक र म्याट स्टेल्थ ब्ल्याक रङको संयोजन प्रयोग गरिएको छ । त्यसमा आकर्षक गोल्ड लिफ स्ट्राइप, हल्का ग्रे एक्सेन्ट तथा ट्याङ्कमै अंकित लिमिटेड एडिसन नम्बरिङ दिइएको छ । ट्याङ्कमा राखिएको विशेष कास्ट ब्रास कोलाबोरेसन ब्याज मूल ‘क्यालिबर रोयाल’ कस्टम बाइकसँग मिल्दोजुल्दो छ ।
यसमा ब्ल्याक बार–एन्ड मिरर, क्विल्टेड लेदर सिट, कन्ट्रास्ट–कट अलोय रिम र गोल्ड फोर्क इनर ट्युब जस्ता प्रिमियम फिचर समावेश गरिएको छ । यति मात्र होइन, प्रत्येक ग्राहकले रफ क्राफ्ट्सका संस्थापक विन्स्टन येह ले डिजाइन र हस्ताक्षर गरेको ‘क्यालिबर रोयाल’ को नम्बरिङ गरिएको विशेष आर्टवर्क पनि प्राप्त गर्नेछन् ।
कम्पनीका अनुसार ‘क्यालिबर रोयाल’ कस्टम मोटरसाइकल सटगन ६५० लाई आधार बनाएर निर्माण गरिएको थियो । यसमा लम्बिएको बडी डिजाइन, विशेष फेयरिङ, हस्तनिर्मित फिनिस, ग्लस तथा म्याट पेन्ट, गोल्ड लिफ डिटेलिङ र फ्रेममा गरिएका सूक्ष्म परिवर्तनले यसलाई निकै फरक बनाएको थियो । यही डिजाइन अवधारणालाई आधार बनाएर उत्पादन संस्करण तयार गरिएको कम्पनीको भनाइ छ ।
यो विशेष संस्करण खरिद गर्न इच्छुक ग्राहकले जुलाई १५ देखि जुलाई ३०, २०२६ भित्र रोयल इन्फिल्डको मोबाइल एप वा आधिकारिक वेबसाइटको ड्रप जोन मार्फत आफ्नो नाम दर्ता गर्नुपर्नेछ । त्यसपछि भारत, युरोप, उत्तर अमेरिका तथा एसिया–प्रशान्त क्षेत्रका लागि चरणबद्ध रूपमा जुलाई २७ देखि ३० बीच बिक्री प्रक्रिया सञ्चालन गरिने कम्पनीले जनाएको छ ।
भारतीय बजारमा ५ लाख ७५ हजार भारु (एक्स–शोरुम) मूल्य निर्धारण गरिएको यो विशेष संस्करण सीमित सङ्ख्यामा मात्र उपलब्ध भएकाले कलेक्टर र कस्टम मोटरसाइकल पारखीबीच यसको माग उच्च रहने अपेक्षा गरिएको छ ।