Newad1
Featured blog image

साझाको नयाँ अवतार: निलो रङमा महिलामैत्री बस सेवा सञ्चालनको तयारी

काठमाडौं । महिलालाई सुरक्षित र सहज सार्वजनिक यातायात उपलब्ध गराउने उद्देश्यसहित सरकारले ‘ब्लु बस’ नामको विशेष बस सेवा सञ्चालन गर्ने तयारीलाई अन्तिम चरणमा पुर्‍याएको छ । साउन महिनादेखि सेवा सुरु गर्ने लक्ष्य राखिएको यो योजना अन्तर्गत पहिलो चरणमा काठमाडौं उपत्यकाका विभिन्न रुटमा आठ वटा बस चलाइने भएका छन् ।

यो कार्यक्रम सरकारको १०० दिने कार्ययोजना अन्तर्गत समावेश गरिएको छ । सञ्चालनका लागि आवश्यक बजेट चालु आर्थिक वर्ष २०८३/८४ मा छुट्याइसकिएको छ भने अहिले उक्त रकमको अन्तिम स्वीकृति प्रक्रिया अर्थ मन्त्रालयमा अघि बढिरहेको छ। बजेट स्वीकृत भएपछि सेवा सञ्चालनको औपचारिक प्रक्रिया सुरु हुने सम्बन्धित अधिकारीहरूले बताएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार पहिलो चरणमा बुढानीलकण्ठ–गोदावरी, नागढुंगा–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा चक्रपथको दायाँ  र बायाँ दिशामा बस सञ्चालन गरिनेछ । यी रुटका लागि कुल आठ वटा बस छुट्याइएको छ ।

यस योजनाको जिम्मेवारी पाएको साझा यातायात अहिले सञ्चालन तयारीमा जुटेको छ । कुन रुटमा कुन बस खटाउने, सञ्चालन तालिका बनाउने तथा प्राविधिक व्यवस्थापन गर्ने काम भइरहेको साझा यातायातका प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र अर्यालले बताएका छन् । मन्त्रालयसँग औपचारिक सम्झौता भएपछि बसमा नयाँ निलो रङ लगाउने काम सुरु हुने र त्यसको करिब १० देखि १५ दिनभित्र सेवा सञ्चालन गर्ने लक्ष्य राखिएको उनले जानकारी दिए ।

‘ब्लु बस’ सेवा विशेष रूपमा महिलाका लागि सञ्चालन गरिनेछ । यी बसमा यात्रा गर्ने महिलाबाट कुनै पनि भाडा नलिइने व्यवस्था गरिएको छ । यात्रुबाट नउठाइने भाडा तथा सञ्चालनसँग सम्बन्धित खर्च भने सरकारले नै व्यहोर्नेछ । यद्यपि, कुल सञ्चालन लागत भने हालसम्म सार्वजनिक गरिएको छैन ।

प्रारम्भिक योजना अनुसार बसहरू बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म नियमित रूपमा सञ्चालन हुनेछन् । यसबाहेक साझा यातायातका हाल सञ्चालनमा रहेका अन्य बस सेवामा भने कुनै परिवर्तन गरिने छैन ।

सरकारले आगामी चरणमा यस्तै सेवा उपत्यकाबाहिरका प्रदेशहरूमा पनि विस्तार गर्ने योजना बनाएको छ । यद्यपि, सरकार गठनपछि सार्वजनिक गरिएको १०० दिनभित्र २५ वटा ब्लु बस सञ्चालन गर्ने लक्ष्य भने निर्धारित समयमै पूरा नहुने देखिएको छ, किनभने सरकारको १०० दिने अवधि आगामी मंगलबार पूरा हुँदैछ ।

footer