सांग्रिला मोटर्सको साहसिक कदम: लीपमोटर B10 को मूल्य रु. ५४.९९ लाखमा स्थिर

काठमाडौं — नेपालको विद्युतीय सवारी बजारमा विभिन्न ब्रान्डहरूले मूल्य वृद्धि गर्दै गएको परिप्रेक्षमा, सांग्रिला मोटर्सले भने आफ्नो लीपमोटर B10 (२०२६ टप भेरियन्ट) को मूल्य घटाएर रु. ५४.९९ लाख कायम गरेको छ ।  यसअघि यो मोडेल रु. ६० लाखमा उपलब्ध थियो ।

कम्पनीका अनुसार, विदेशी विनिमय दरमा आएको उतारचढाव र नयाँ आयात कर संरचनाका कारण अधिकांश इलेक्ट्रिक सवारी ब्रान्डहरूले ५ देखि १० प्रतिशतसम्म मूल्य बढाएका छन् । तर सांग्रिला मोटर्सले भने यस्तो अतिरिक्त लागत आफैं बेहोर्ने नीति लिएको र ग्राहकलाई मूल्यमा स्थिरता दिने रणनीति अपनाएको जनाएको छ ।

सुरक्षा र प्रविधिका विशेषता

लीपमोटर B10 एक मध्यमस्तरीय इलेक्ट्रिक एसयूभी हो, जसले सुरक्षा, ड्राइविङ रेन्ज र प्रविधिको संयोजन प्रस्तुत गर्ने दाबी गरिएको छ । कम्पनीका अनुसार यो मोडेलले युरो NCAP बाट ५ स्टार सुरक्षा रेटिङ पाएको छ र यसमा लेभल २ ड्राइवर सहायता प्रणाली (ADAS) समावेश गरिएको छ ।

प्राविधिक विशेषताअन्तर्गत यसमा १६० किलोवाटको इलेक्ट्रिक मोटर र ६७.१ किलोवाट-घन्टा क्षमताको ब्याट्री प्याक जडान गरिएको छ । कम्पनीले CLTC मापदण्ड अनुसार यसको ड्राइविङ रेन्ज ६०० किलोमीटरसम्म पुग्ने दाबी गरेको छ । साथै, १८० मिलिमिटर ग्राउन्ड क्लियरेन्स रहेकाले नेपालका विविध सडक अवस्थाका लागि उपयुक्त हुने कम्पनीको भनाइ छ । गाडीमा स्पेयर टायर पनि समावेश गरिएको छ ।

इन्टेरियर र सुविधा

गाडीको भित्री संरचनालाई आधुनिक र प्रविधियुक्त बनाइएको छ । यसमा हिटेड तथा भेन्टिलेटेड सिट, प्यानोरमिक सनरूफ, र एन्ड्रोइड अटो तथा एप्पल कारप्ले जडानको सुविधा रहेको छ । इन्फोटेन्मेन्ट प्रणाली स्मार्ट र सहज प्रयोगका लागि डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

लीपमोटर र स्टेलान्टिसको साझेदारी

लीपमोटर हाल विश्व बजारमा विस्तार भइरहेको चिनियाँ इलेक्ट्रिक सवारी ब्रान्ड हो, जसलाई विश्वकै ठूला अटोमोबाइल समूहहरूमध्ये एक स्टेलान्टिस ग्रुपको लगानी तथा साझेदारी प्राप्त छ । स्टेलान्टिस समूहअन्तर्गत मासेराती, जीप र प्युजोलगायत १४ ब्रान्डहरू समावेश रहेका छन्, जसले लीपमोटरलाई प्रविधि र सप्लाई चेनमा सहयोग पुर्‍याउने गरेको कम्पनीको दाबी छ ।

कम्पनीका तथ्यांकअनुसार, लीपमोटरले विश्वभर हालसम्म १० लाखभन्दा बढी इलेक्ट्रिक सवारी बिक्री गरिसकेको छ भने एक महिनामा मात्रै ८१,५६९ युनिट डेलिभरी गरेको रेकर्ड रहेको छ । हाल यो ब्रान्डको उपस्थिति ४० भन्दा बढी देशमा र १,७०० भन्दा बढी बिक्री तथा सेवा केन्द्रहरूमा रहेको कम्पनीले जनाएको छ ।

मूल्यमा भएको यो कमीले नेपाली इलेक्ट्रिक सवारी बजारमा प्रतिस्पर्धा थप चर्किने सम्भावना देखिएको छ ।