शंकर ग्रुपद्वारा ४ करोड सहयोग, विस्थापितलाई २५ लाखका टेन्ट पनि वितरण
काठमाडौं । विपद्ले देशका विभिन्न क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याइरहेका बेला प्रभावित नागरिकको तत्काल राहत र दीर्घकालीन पुनर्स्थापनाका लागि निजी क्षेत्रबाट सहयोग जुट्ने क्रम बढेको छ ।
यसै क्रममा शंकर ग्रुपले प्रधानमन्त्री राहत कोषमा ४ करोड रुपैयाँ सहयोग गरेको छ । ग्रुपका निर्देशक दीपा अग्रवालसहित वरिष्ठ व्यवस्थापन टोलीले अर्थमन्त्रीलाई उक्त रकमको चेक हस्तान्तरण गरेको हो ।
विपद् प्रभावित नागरिकको राहत, उद्धार र पुनर्स्थापनामा सरकारलाई सहयोग पुर्याउने उद्देश्यले रकम उपलब्ध गराइएको ग्रुपले जनाएको छ । शंकर ग्रुपले विपद्मा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना तथा बेपत्ता भएकाहरूको सकुशल उद्धारको कामना गरेको छ ।
ग्रुपले विपद्को तेस्रो दिनमै गृह मन्त्रालयसँगको समन्वयमा विस्थापित नागरिकका लागि २५ लाख रुपैयाँ बराबरका २ हजार ५ सय थान टार्पोलिन टेन्टसमेत उपलब्ध गराइसकेको जनाएको छ । उक्त सामग्री भैरहवाका प्रमुख जिल्ला अधिकारीमार्फत अस्थायी आश्रय व्यवस्थापनका लागि हस्तान्तरण गरिएको हो ।
उद्धार तथा राहत कार्यमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, स्वयंसेवक र सरकारी कर्मचारीप्रति पनि ग्रुपले आभार व्यक्त गरेको छ ।
विपद्पछि घरबारविहीन भएका नागरिकका लागि सुरक्षित अस्थायी बसोबास, खाद्यान्न, स्वास्थ्य सेवा र आधारभूत सामग्रीको आवश्यकता बढिरहेका बेला निजी क्षेत्रबाट प्राप्त हुने सहयोगले सरकारी राहत अभियानलाई थप सहज बनाउने अपेक्षा गरिएको छ ।
शंकर ग्रुपले राष्ट्रिय सङ्कटका बेला सरकार र नागरिकसँग सहकार्य गर्नु निजी क्षेत्रको दायित्व भएको उल्लेख गर्दै भविष्यमा पनि आवश्यकताअनुसार सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।