Newad1
Featured blog image

स्कोडा स्लाभिया फेसलिफ्ट लन्च, मूल्य १० लाख भारुबाट सुरु

काठमाडौं । स्कोडाले आफ्नो सेडान स्लाभियाको फेसलिफ्ट संस्करण भारतीय बजारमा लन्च गरेको छ । सुरुवाती एक्स–शोरुम मूल्य करिब १० लाख भारु राखिएको नयाँ स्लाभियामा बाहिरी डिजाइनसँगै क्याबिनका सुविधा र अटोमेटिक गियरबक्समा परिवर्तन गरिएको छ । सन् २०२२ मा आएको स्लाभियाले चार वर्षभन्दा बढी समयपछि पहिलो ठूलो अपडेट पाएको हो ।

फेसलिफ्टमा हेडल्याम्प र टेलल्याम्पको डिजाइन परिमार्जन गरिएको छ भने बम्पर र १६ इन्चका अलोय ह्विल पनि नयाँ छन् । टेलल्याम्पमा क्रमिक रूपमा बल्ने टर्न इन्डिकेटर थपिएको छ । आर्कटिक सिल्भर र क्यापुचिनो बेज नयाँ रङ विकल्प हुन् ।

क्याबिनको मूल बनावट भने धेरै फेरिएको छैन । यसमा १०.१ इन्चको इन्फोटेनमेन्ट स्क्रिन र १०.२५ इन्चको डिजिटल ड्राइभर डिस्प्ले उपलब्ध छन् । भेरियन्टअनुसार ३६० डिग्री क्यामेरा, विद्युतीय रूपमा मिलाउन सकिने तथा भेन्टिलेटेड अगाडिका सिट र पछाडिको सिटमा मसाज सुविधा दिइएको छ । एयर कन्डिसनिङ प्रणालीमा पनि सुधार गरिएको छ ।

इन्जिन विकल्पमा भने पुरानै १.० लिटर र १.५ लिटर टर्बो पेट्रोल इन्जिनलाई निरन्तरता दिइएको छ । मुख्य प्राविधिक परिवर्तन १.० लिटर इन्जिनको अटोमेटिक संस्करणमा छ, जसमा पहिलेको ६–स्पिडको ठाउँमा नयाँ ८–स्पिड अटोमेटिक गियरबक्स आएको छ । यही इन्जिनमा ६–स्पिड म्यानुअल विकल्प पनि छ भने १.५ लिटर इन्जिनसँग ७–स्पिड डुअल क्लच गियरबक्स उपलब्ध छ ।

नयाँ स्लाभियाको उत्पादन पुणेको चाकनस्थित कारखानामा सुरु भइसकेको छ । अहिले घोषणा गरिएको मूल्य भारतीय बजारको एक्स–शोरुम मूल्य हो ।

footer