Newad1
Featured blog image

स्मार्टको सानो इलेक्ट्रिक कारमा ३५.८ किलोवाट आवर ब्याट्री

काठमाडौँ । मर्सिडिज–बेन्ज र जिलीको संयुक्त ब्रान्ड स्मार्टले दुईसिटे इलेक्ट्रिक कार ‘स्मार्ट #२’ को प्रिमियम भेरियन्ट चीनमा सार्वजनिक गरेको छ । नोभेम्बर ५ मा लन्च गरिएको यो भेरियन्टको नियमित मूल्य १ लाख २ हजार ९०० युआन छ । सीमित अवधिका लागि ३ हजार युआन छुटपछि खरिद मूल्य ९९ हजार ९०० युआन पर्छ ।


दुई ढोका भएको यो कारको लम्बाइ २ हजार ७५१ मिलिमिटर छ । स्मार्टको पुरानो दुईसिटे मोडल फोरटुको उत्तराधिकारीका रूपमा आएको यसमा सानो आकार कायम राखिएको छ । यसको न्यूनतम टर्निङ रेडियस ३.३५ मिटर छ ।

कारमा सीएटीएलका सेल प्रयोग गरिएको ३५.८ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री छ । कम्पनीले सीएलटीसी परीक्षण प्रणालीअनुसार एकपटकको चार्जमा ४१० किलोमिटरसम्म रेन्ज दिने दाबी गरेको छ ।

पछाडि जडित मोटरले अधिकतम ६० किलोवाट पावर र १३० न्युटन मिटर टर्क उत्पादन गर्छ । यसमा पछाडिका पाङ्ग्रामा शक्ति पठाउने रियर ह्विल ड्राइभ प्रणाली छ । कम्पनीका अनुसार डीसी फास्ट चार्जिङबाट ब्याट्री १० देखि ८० प्रतिशत पुर्‍याउन बढीमा २० मिनेट लाग्छ ।


प्रिमियम भेरियन्टमा सात एयरब्याग, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, एडाप्टिभ क्रुज कन्ट्रोल र लेन किपिङ असिस्ट छन् । साथै, ब्लाइन्ड स्पट डिटेक्सन र ३६० डिग्री क्यामेरा पनि समावेश छन् ।

स्मार्ट #२ को उत्पादन संस्करण यसअघि अक्टोबर १२ मा पेरिस मोटर शोमा पहिलोपटक सार्वजनिक भएको थियो । अहिले चीनमा प्रिमियम भेरियन्ट थपिएको हो ।


footer