Newad1
Featured blog image

क्यास्ट्रोलको ६५ प्रतिशत हिस्सा स्टोनपिकले किन्यो, बीपीसँग ३५ प्रतिशत बाँकी

काठमाडौँ । अमेरिकी लगानी संस्था स्टोनपिकले बेलायती ऊर्जा कम्पनी बीपीबाट लुब्रिकेन्ट निर्माता क्यास्ट्रोलको विश्वव्यापी व्यवसायको ६५ प्रतिशत हिस्सा खरिद गरेको छ । बीपीले बाँकी ३५ प्रतिशत हिस्सा कायम राखेको छ । यो कारोबारसँगै भारतमा सूचीकृत क्यास्ट्रोल इन्डियाको नियन्त्रण पनि अप्रत्यक्ष रूपमा स्टोनपिकमा पुगेको छ ।

कारोबार ३० अक्टोबर २०२६ मा सम्पन्न भएको हो । स्टोनपिकले २ नोभेम्बरमा यसको घोषणा गर्‍यो । त्यही दिन क्यास्ट्रोल इन्डियाले पनि भारतका दुई सेयर बजार बीएसई र एनएसईलाई कारोबार सम्पन्न भएको जानकारी दियो ।

क्यास्ट्रोल इन्डियाले सेयर बजारमा बुझाएको विवरणअनुसार स्टोनपिकअन्तर्गतको मोसन जेभीकोले बीपीबाट क्यास्ट्रोल ग्रुप होल्डिङ्सको शतप्रतिशत सेयर किनेको हो । क्यास्ट्रोल ग्रुप होल्डिङ्ससँग क्यास्ट्रोल लिमिटेडको सम्पूर्ण स्वामित्व छ ।

क्यास्ट्रोल लिमिटेडसँग क्यास्ट्रोल इन्डियाका ५० करोड ४४ लाख ५२ हजार ४१६ कित्ता सेयर छन् । यो भारतीय कम्पनीको कुल सेयर र मतदान अधिकार दुवैको ५१ प्रतिशत हो । ती सेयर क्यास्ट्रोल लिमिटेडकै नाममा छन् । तिनको मतदान अधिकार कसरी प्रयोग गर्ने भन्ने निर्णय अब मोसन जेभीकोले गर्न पाउँछ ।

बीपीका अनुसार कारोबारबाट उसलाई कर कटाएपछि ६ अर्ब अमेरिकी डलर प्राप्त भएको छ । यो रकम ऋणलगायत वित्तीय दायित्व घटाउन प्रयोग गरिने कम्पनीले जनाएको छ । कुल प्राप्तिमा बीपीले कायम राखेको हिस्साबाट भविष्यमा पाउने लाभांशबापतको करिब ८० करोड डलर अग्रिम भुक्तानी पनि समावेश छ ।

क्यास्ट्रोलको नयाँ सञ्चालक समितिको अध्यक्षमा शेलका पूर्वप्रमुख कार्यकारी बेन भान बेउर्डेन नियुक्त भएका छन् । क्यास्ट्रोलले अब आफ्नै व्यवस्थापन र व्यावसायिक प्राथमिकतासहित छुट्टै कम्पनीका रूपमा काम गर्ने बीपीले जनाएको छ ।

नेपालमा क्यास्ट्रोलका लुब्रिकेन्ट नेपाल ओभरसिज ट्रेडिङ कन्सर्नमार्फत बिक्री हुँदै आएका छन् । कारोबारबारे सार्वजनिक विवरणमा नेपालका लागि वितरक, मूल्य वा आपूर्ति परिवर्तन गर्ने कुनै निर्णय उल्लेख छैन ।

footer