सुर्खेतमा एसएमएल महिन्द्राको ग्राहक भेटघाट, ‘हिरोई’ स्कुल बसले तान्यो सबैको ध्यान
सुर्खेत । व्यावसायिक सवारीसाधन क्षेत्रमा सक्रिय लक्ष्मी कमर्सियल भेहिकल्स प्रालिले सुर्खेतमा आयोजना गरेको ग्राहक भेटघाट कार्यक्रममार्फत विद्यालय यातायातका लागि नयाँ ‘हिरोई बीएस६ स्कुल बस’ औपचारिक रूपमा सार्वजनिक गरेको छ । कार्यक्रममा विद्यालय सञ्चालक, यातायात व्यवसायी, फ्लीट अपरेटर, उद्योगी–व्यवसायी तथा कम्पनीका ग्राहकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रमको प्रमुख आकर्षणका रूपमा सार्वजनिक गरिएको ‘हिरोई’ स्कुल बसको शुभारम्भ एसएमएल महिन्द्रा लिमिटेडका नेपालका कन्ट्री म्यानेजर सुमन नागपाल र लक्ष्मी कमर्सियल भेहिकल्सका सेल्स तथा आफ्टर सेल्स हेड संजय खड्काले संयुक्त रूपमा गरेका हुन् ।
कम्पनीका प्रतिनिधिहरूले नेपालमा विद्यालय यातायातलाई अझ सुरक्षित, भरपर्दो र आधुनिक बनाउने उद्देश्यका साथ नयाँ बस बजारमा ल्याइएको बताए । उनीहरूका अनुसार विद्यालयहरूमा सुरक्षित यातायातको आवश्यकता बढ्दै गइरहेका बेला नयाँ पुस्ताको सुरक्षा प्रविधिसहितको बस प्रभावकारी विकल्प बन्ने अपेक्षा गरिएको छ ।
कम्पनीका अनुसार ‘हिरोई’ स्कुल बस नेपाल सरकारको विद्यालय बस सम्बन्धी सिट क्षमताको मापदण्डअनुसार ३६ सिटदेखि ५६ सिटसम्मका विभिन्न भेरियन्टमा उपलब्ध हुनेछ । यसले साना, मध्यम तथा ठूला विद्यालयलाई आफ्ना आवश्यकता अनुसार उपयुक्त मोडल छनोट गर्ने सुविधा दिने कम्पनीको भनाइ छ ।
बस बीएस६ फेज–टु (ओबीडी–२) उत्सर्जन मापदण्डअनुसार निर्माण गरिएको छ । यसमा इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल (ईएससी), हिल स्टार्ट एसिस्ट, इलेक्ट्रोनिक हाइड्रोलिक कन्ट्रोल युनिट, मल्टि इन्फर्मेसन मिटर क्लस्टर, गियर कोचिङ सिस्टम तथा पावर र इकोनोमी ड्राइभिङ मोडजस्ता आधुनिक प्रविधि समावेश गरिएको कम्पनीले जनाएको छ । यी प्रविधिले सवारीको स्थिरता, चालकलाई सहज सञ्चालन, इन्धन बचत तथा समग्र सुरक्षा स्तरमा सुधार ल्याउने विश्वास गरिएको छ ।
विद्यार्थीको दैनिक आवतजावतलाई थप सहज र आरामदायी बनाउन बसमा फराकिला तथा आरामदायी सिट, प्रभावकारी सस्पेन्सन प्रणाली तथा यात्रुमैत्री इन्टेरियर व्यवस्था गरिएको छ । साथै कम सञ्चालन तथा मर्मत खर्च, उच्च इन्धन दक्षता र भरपर्दो बिक्रीपछिको सेवा यसका थप आकर्षण रहेको कम्पनीको दाबी छ ।
ग्राहक भेटघाट कार्यक्रममा कम्पनीले आफ्ना ग्राहक तथा व्यावसायिक साझेदारसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै बिक्रीपछिको सेवा, स्पेयर पार्ट्सको उपलब्धता, प्राविधिक सहयोग तथा आगामी व्यावसायिक योजनाबारे जानकारी आदानप्रदान गरेको थियो । कार्यक्रममा सहभागीहरूले कम्पनीको सेवा प्रणाली र नयाँ ‘हिरोई’ स्कुल बसप्रति सकारात्मक प्रतिक्रिया दिएको कम्पनीले जनाएको छ ।
लक्ष्मी कमर्सियल भेहिकल्सले आगामी दिनमा पनि गुणस्तरीय उत्पादन, विश्वसनीय बिक्रीपछिको सेवा र आधुनिक व्यावसायिक यातायात समाधानमार्फत नेपाली ग्राहकको विश्वास अझ मजबुत बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।