बीवाईडीको ब्याट्रीसहित सुजुकीको सानो ईभी, रेन्ज ३१० किमि
काठमाडौं । सुजुकीले जापानी बजारका लागि आफ्नो पहिलो केई श्रेणीको इलेक्ट्रिक यात्रुवाहक कार ‘ई स्काई’ सार्वजनिक गरेको छ । अक्टोबर ६ मा घोषणा गरिएको यो सानो इलेक्ट्रिक कारको बिक्री नोभेम्बर १६ देखि सुरु हुनेछ । केई जापानमा साना आकारका गाडीका लागि तोकिएको श्रेणी हो ।
ई स्काईको चासो बढाउने पक्ष यसको
ब्याट्री आपूर्ति हो । सुजुकीले यसमा बीवाईडीको ब्याट्री प्रविधि प्रयोग गरेको छ । प्रतिस्पर्धी मूल्यमा
गाडी उपलब्ध गराउन उक्त प्रविधि अपनाइएको रिपोर्टमा उल्लेख छ । सुजुकीको आधिकारिक
विज्ञप्तिले भने एलएफपी ब्याट्री पुष्टि गरे पनि आपूर्तिकर्ताको नाम खुलाएको छैन ।
गाडीमा २६ किलोवाट आवरको ब्याट्री छ ।
जापानी डब्लूएलटीसी परीक्षणअनुसार यसको रेन्ज ३१० किलोमिटर छ, जुन वास्तविक सडकमा
मौसम, गति र एसी प्रयोगअनुसार फरक पर्न सक्छ । अगाडिका चक्कामा शक्ति दिने ई
स्काईमा सुजुकीले विकास गरेको ‘ई–एक्सल’ र ईभीका लागि तयार गरिएको ‘हार्टेक्ट–ई’
प्लेटफर्म प्रयोग गरिएको छ । यसको न्यूनतम टर्निङ रेडियस ४.४ मिटर छ ।
सुविधातर्फ १०.१ इन्चको डिस्प्ले,
चारैतर्फ हेर्ने क्यामेरा र सुजुकी कनेक्ट उपलब्ध छन् । नेभिगेसनले ब्याट्रीको
बाँकी चार्जअनुसार रुट तथा चार्जिङ स्टेसन सुझाउन सक्छ । डिस्प्ले, क्यामेरा र
कनेक्ट प्याकेज माथिल्लो एक्स संस्करणमा स्ट्यान्डर्ड तथा जीमा अतिरिक्त मूल्यको
विकल्प हो ।
जापानमा यसको ए संस्करणको मूल्य २१ लाख २० हजार येन, जीको २३ लाख ९० हजार येन र एक्सको २७ लाख ९० हजार येन तोकिएको छ । मूल्यमा १० प्रतिशत उपभोग कर समावेश छ । ए संस्करण अर्डरअनुसार उत्पादन हुनेछ ।