हावामा उफ्रिने प्रविधिसहित टेस्ला रोडस्टर प्रस्तुत, उत्पादन २०२८ मा
काठमाडौं । टेस्लाले लामो प्रतीक्षापछि नयाँ डिजाइनको रोडस्टर इलेक्ट्रिक स्पोर्ट्स कार प्रस्तुत गरेको छ । अमेरिकाको टेक्सासस्थित स्पेसएक्स परीक्षण केन्द्रमा आयोजित कार्यक्रममा गाडीलाई केही समय हावामा उफार्ने र घुमाउने प्रविधिसमेत प्रदर्शन गरिएको हो । कम्पनीले यसको उत्पादन सन् २०२८ मा सुरु गर्ने लक्ष्य राखेको छ ।
प्रदर्शनमा रोडस्टर उल्टो परेको र्याम्पमा
गुडेको, हावामा पल्टिएको र अन्य गाडीमाथिबाट उफ्रिएर अवतरण गरेको देखाइएको थियो ।
यसका लागि सक्सन प्रणाली र उच्च चापको ग्यासबाट धक्का दिने ‘कोल्ड–ग्यास थ्रस्टर’
प्रयोग गरिएको छ । सक्सनले गाडीलाई सतहतर्फ तान्न मद्दत गर्छ भने थ्रस्टरले
अतिरिक्त धक्का दिन्छ ।
नयाँ रोडस्टरमा पर्फर्मेन्स, थ्रस्ट र
रोकेट विकल्प राखिएका छन् । पर्फर्मेन्स सामान्य सडक प्रयोगका लागि लक्षित दुई
सिटे संस्करण हो । थ्रस्टमा अतिरिक्त थ्रस्टर उपलब्ध हुनेछ भने एक सिटे रोकेट
विशेष निमन्त्रणामार्फत मात्र उपलब्ध गराइनेछ । पर्फर्मेन्सको बुकिङका लागि ५०
हजार अमेरिकी डलर र थ्रस्टका लागि २ लाख ५० हजार डलर जम्मा गर्नुपर्ने विवरण आएको
छ । यी रकम गाडीको अन्तिम बिक्री मूल्य होइनन् ।
कम्पनीले थ्रस्टरसहितको गाडीबाट एक
सेकेन्डभन्दा कम समयमा प्रतिघण्टा करिब ९७ किलोमिटर गति हासिल गर्ने दाबी गरेको छ
। प्रदर्शनमा उल्लेख गरिएको ०.८१ सेकेन्डको समय भने गाडी पहिलो एक फिट गुडिसकेपछि
गणना गरिएको हो । त्यसैले यसलाई स्थिर अवस्थाबाट गरिएको सामान्य एक्सिलेरेसन
मापनसँग सीधै तुलना गर्न मिल्दैन ।
हावामा उफ्रिने सुविधा भएको रोकेट
विकल्पलाई सार्वजनिक सडकमा प्रयोग गर्ने स्वीकृति छैन । यसलाई दैनिक यात्रामा
नियमित उडान भर्न सक्ने प्रमाणित कारका रूपमा बुझ्न मिल्दैन । नयाँ रोडस्टरको
अन्तिम बिक्री मूल्य पनि घोषणा भएको छैन ।