Newad1
Featured blog image

ट्राफिक नियम उल्लंघन अझै व्यापक, एक महिनामै १२ करोड जरिवाना सरकारको खातामा

काठमाडौं, ६ साउन । सडकमा ट्राफिक नियम उल्लंघन गर्ने सवारीचालकमाथि नेपाल प्रहरीले थालेको नियमित निगरानी र कारबाहीको प्रभाव जेठ महिनाको राजस्व विवरणमा स्पष्ट देखिएको छ । एक महिनाको अवधिमा ट्राफिक कारबाहीबाट मात्रै १२ करोड ९ लाख १० हजार १३१ रुपैयाँ राजस्व संकलन भएको छ । यो रकम नेपाल प्रहरीले जेठ महिनाभर सरकारको खातामा जम्मा गरेको कुल राजस्वको १३.९० प्रतिशत बराबर हो ।

नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्ष २०८२÷०८३ को जेठ महिनामा विभिन्न कारबाहीमार्फत कुल ८६ करोड ९८ लाख १९ हजार ८४४ रुपैयाँ सरकारी राजस्व संकलन भएको छ । तीमध्ये ट्राफिक कारबाही राजस्वको तेस्रो ठूलो स्रोतका रूपमा देखिएको हो ।

यो अवधिमा मादक पदार्थ सेवन गरेर सवारी चलाउने, तीव्र गतिमा सवारी हाँक्ने, लेन अनुशासन उल्लंघन गर्ने, आवश्यक कागजात बिना सवारी सञ्चालन गर्ने तथा अन्य ट्राफिक नियम विपरीतका गतिविधिमा संलग्न चालकमाथि कारबाही गरिएको थियो । ती कारबाहीबाट उठेको जरिवाना सरकारको खातामा जम्मा भएको प्रहरीले जनाएको छ ।

राजस्व संकलनमा सबैभन्दा ठूलो योगदान भने भन्सार छलीका सामान नियन्त्रणबाट आएको छ । यस शीर्षकअन्तर्गत मात्रै ४१ करोड ३७ लाख ३७ हजार ९१३ रुपैयाँ अर्थात् कुल राजस्वको ४७.५७ प्रतिशत संकलन भएको छ । त्यसपछि अदालती फैसला कार्यान्वयनमार्फत २३ करोड ४४ लाख ४३ हजार ८९१ रुपैयाँ अर्थात् २६.९५ प्रतिशत राजस्व प्राप्त भएको देखिन्छ ।

यस्तै, श्रोत नखुलेको रकम नियन्त्रणबाट ३ करोड ५९ लाख ३८ हजार ६१० रुपैयाँ, अवैध सुन तथा चाँदी बरामदबाट २ करोड ७५ हजार ८४३ रुपैयाँ, अवैध मुद्रा बरामदबाट १ करोड ४० लाख ३१ हजार ३४७ रुपैयाँ, अवैध काठ बरामदबाट १ करोड २२ लाख ७६ हजार ९४३ रुपैयाँ, अवैध नदीजन्य पदार्थ उत्खनन नियन्त्रणबाट ८१ लाख ८९ हजार ६ रुपैयाँ, अवैध पशुपन्छी नियन्त्रणबाट ५४ लाख २१ हजार १६० रुपैयाँ तथा हुन्डी कारोबार नियन्त्रणबाट ४७ लाख ९५ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

ट्राफिक कारबाहीबाट मात्रै एक महिनामा १२ करोडभन्दा बढी राजस्व उठ्नु सकारात्मक उपलब्धि मात्र होइन, सडकमा नियम उल्लंघन अझै पनि व्यापक रहेको संकेतका रूपमा समेत हेरिएको छ । दैनिक रूपमा राजधानीदेखि जिल्ला सदरमुकाम र राजमार्गसम्म हुने ट्राफिक चेकजाँचका क्रममा हजारौँ चालक कारबाहीमा पर्ने गरेका छन् ।

नेपालजस्तो सवारीसाधनको संख्या तीव्र रूपमा बढिरहेको मुलुकमा सडक पूर्वाधार, चालकको चेतना र ट्राफिक अनुशासनबीच सन्तुलन कायम गर्न अझै चुनौती रहेको देखिन्छ । गाउँदेखि सहरसम्मका चियापसलमा हुने गफमा पनि ट्राफिक जरिवाना बढेको चर्चा सुनिन थालेको छ । कतिपयले यसलाई प्रहरीको सक्रियता मानेका छन् भने कतिपयले चालकको लापरबाही अझै नघटेको प्रमाणका रूपमा व्याख्या गर्ने गरेका छन् ।

यदि ट्राफिक नियम पालना गर्ने संस्कृतिको विकास हुन सके सडक दुर्घटना, मानवीय क्षति र आर्थिक नोक्सानी उल्लेख्य रूपमा घटाउन सकिन्छ । त्यसका लागि कारबाहीसँगै सडक सुरक्षा सम्बन्धी जनचेतना, चालक प्रशिक्षण, प्रविधिमैत्री निगरानी प्रणाली र नागरिकको जिम्मेवारीपूर्ण व्यवहार पनि उत्तिकै आवश्यक छ ।

नेपाल प्रहरीले पनि सुरक्षित सडक संस्कृतिको विकास, दुर्घटना न्यूनीकरण र ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनका लागि नियमित अनुगमन तथा कारबाहीलाई आगामी दिनमा अझ प्रभावकारी बनाउँदै लैजाने जनाएको छ ।



footer