Newad1
Featured blog image

सवारी किनेपछि आफैँ यातायात धाउनुपर्ने बाध्यता हट्यो

काठमाडौं । सवारी खरिदकर्ता स्वयं यातायात व्यवस्था कार्यालयमा उपस्थित नभए पनि वारेसनामा दिएको व्यक्तिमार्फत सवारी दर्ता तथा नामसारी गर्न सकिने भएको छ । यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० का केही प्रावधान संशोधन गर्दै यस्तो व्यवस्था गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागले असोज २६ गते जारी गरेको सार्वजनिक सूचनाअनुसार सोही मितिको मन्त्रीस्तरीय निर्णयबाट निर्देशिका संशोधन गरिएको हो । नयाँ व्यवस्थाले निजी तथा सार्वजनिक सवारीको दर्ता, पहिलो पटक नामसारी गर्दाको जाँच र बीमासम्बन्धी प्रक्रियामा सहुलियत दिएको छ ।

सवारी बिक्री गर्ने डिलरले खरिदकर्ताबाट वारेसनामा लिएर दर्ता तथा नामसारीको काम गराउन सक्नेछन् । त्यसका लागि वारेसनामा प्राप्त व्यक्ति आफ्नो नेपाल सरकारबाट जारी भएको सक्कल परिचयपत्र, खरिदकर्ताको फोटो र खरिदकर्ताको सक्कल परिचयपत्रसहित यातायात कार्यालयमा उपस्थित हुनुपर्नेछ । यी कागजातसहित प्रतिनिधि उपस्थित भए खरिदकर्ता स्वयं नआए पनि कार्यालयले दर्ता तथा नामसारीको काम गर्नुपर्ने सूचनामा उल्लेख छ ।

निजी तथा सार्वजनिक सवारी दर्ता गर्दा र पहिलो पटक नामसारी गर्दा डिलरद्वारा यातायात व्यवस्था कार्यालयमा गरिएको चेकजाँचलाई मान्यता दिइनेछ । सोही प्रयोजनका लागि सवारी पुनः कार्यालयमा लगेर चेकजाँच गराउनुपर्ने छैन । सवारीको बीमा गर्न वा बीमा नवीकरण गर्न पनि सवारी धनी यातायात कार्यालयमा उपस्थित हुन नपर्ने व्यवस्था गरिएको छ ।

नामसारीका लागि बायोमेट्रिक विवरण लिने व्यवस्थालाई सवारी विक्रेता, वितरक वा कम्पनीसम्म विस्तार गर्ने प्रावधान पनि समेटिएको छ । तर यसका लागि विभागले सवारी दर्ता प्रणालीमा प्राविधिक व्यवस्था भएको सूचना जारी गर्नुपर्नेछ । त्यसपछि सम्बन्धित व्यवसायीले प्रणालीसँग जोडिन आवश्यक पूर्वाधार तयार गरी यातायात कार्यालयसँग प्राविधिक पहुँच माग गर्नुपर्नेछ ।

कार्यालयले सम्बन्धित विक्रेता, वितरक वा कम्पनीलाई एकद्वार पहुँचमार्फत बायोमेट्रिक लिन मिल्ने व्यवस्था उपलब्ध गराउनुपर्ने सूचनामा उल्लेख छ । यसअनुसार वारेसनामामार्फत काम गराउने व्यवस्था र व्यवसायीमार्फत बायोमेट्रिक लिने प्रक्रियाका सर्त भने अलग छन् ।

footer