जर्मन ब्रान्डमा चिनियाँ प्रविधिको मेल, फक्सवागनले ल्यायो आईडी अउरा टी६
काठमाडौं । फक्सवागनको चिनियाँ संयुक्त उद्यम एफएडब्ल्यू–फक्सवागनले नयाँ आईडी अउरा टी६ विद्युतीय एसयूभी चीनमा सार्वजनिक गरेको छ । चार भेरियन्टमा उपलब्ध पाँच सिटे मिडसाइज एसयूभीको मूल्य १ लाख २९ हजार ९०० युआनदेखि १ लाख ६६ हजार ९०० युआनसम्म तोकिएको छ ।
आईडी अउरा टी६ मा १७० किलोवाट
क्षमताको सिंगल इलेक्ट्रिक मोटर प्रयोग गरिएको छ । यसमा क्याटलले आपूर्ति गरेको
५९.९ र ७७.५ किलोवाट आवरका दुई ब्याट्री विकल्प छन् । यी ब्याट्रीले क्रमशः ५४० र
६६० किलोमिटरसम्मको सीएलटीसी रेन्ज दिने कम्पनीको दाबी छ ।
यसको ५४० प्रो भेरियन्टको मूल्य १
लाख २९ हजार ९०० युआन र ६६० प्रोको १ लाख ३९ हजार ९०० युआन राखिएको छ । लिडार जडान
गरिएका ६६० म्याक्स र ६६० अल्ट्राको मूल्य क्रमशः १ लाख ४९ हजार ९०० र १ लाख ६६
हजार ९०० युआन छ । सार्वजनिक गर्दाको सुरुवाती मूल्य यसअघि घोषणा गरिएको प्रि–सेल
मूल्यभन्दा ६ हजार युआन कम हो ।
माथिल्ला दुई भेरियन्टमा
१९२–च्यानल लिडार र होराइजन रोबोटिक्सको जर्नी ६एच चिपमा आधारित चालक सहायता
प्रणाली उपलब्ध छ । यसले सहरी तथा राजमार्गमा एनओए चालक सहायता र विभिन्न पार्किङ
सहायता सुविधा सपोर्ट गर्ने जनाइएको छ । फक्सवागन र एक्सपेङले संयुक्त रूपमा विकास
गरेको सीईए इलेक्ट्रोनिक तथा इलेक्ट्रिकल आर्किटेक्चर भने सबै भेरियन्टमा प्रयोग
गरिएको छ ।
गाडीमा १५.६ इन्चको सेन्ट्रल टचस्क्रिन, १०.२५ इन्चको इन्स्ट्रुमेन्ट डिस्प्ले र २५.८ इन्चको अग्मेन्टेड रियालिटी हेड–अप डिस्प्ले दिइएको छ । आईडी अउरा टी६ फक्सवागनको नयाँ अउरा लाइनअपको पहिलो मोडलसँगै लिडार उपलब्ध हुने कम्पनीको पहिलो पूर्ण विद्युतीय एसयूभी बनेको छ । हाल यो मोडल चीनमा सार्वजनिक गरिएको हो ।