एमजी एस५ ईभी किन पर्यो विश्वव्यापी रिकलमा ? वास्तविक कारण जान्न चाहनुहुन्छ ?
काठमाडौँ । विश्वव्यापी रूपमा विद्युतीय सवारीसाधनको बजार विस्तार गरिरहेको एमजीले आफ्नो नयाँ एस५ ईभी मोडलका झन्डै १० हजार गाडी फिर्ता बोलाउने निर्णय गरेको छ । अत्यधिक चिसो मौसममा कुलिङ फ्यान जमेर बन्द हुन सक्ने र त्यसले फ्यान कन्ट्रोल प्रणाली अत्यधिक तात्ने जोखिम देखिएपछि कम्पनीले यो रिकल अभियान सुरु गरेको हो ।
उपलब्ध विवरणअनुसार सन् २०२५ जनवरी २२ देखि २०२६ जनवरी २९ बीच उत्पादन भएका ९,८०६ वटा एमजी एस५ ईभी यो अभियानबाट प्रभावित भएका छन् । तीमध्ये १,८३० वटा गाडी जर्मनीमा रहेका छन् । जर्मनीको संघीय मोटर यातायात प्राधिकरणले यस रिकल अभियानको निगरानी गरिरहेको छ ।
प्राविधिक रूपमा समस्या रेडियटर कुलिङ फ्यानसँग सम्बन्धित रहेको बताइएको छ । अत्यधिक चिसो मौसममा फ्यान जमेर घुम्न नसकेको अवस्थामा चालकले गाडीको इन्टेरियर हिटिङ प्रणाली सञ्चालन गर्दा फ्यान कन्ट्रोलमा रहेको सिरिज रेसिस्टर अत्यधिक तात्न सक्छ । यस्तो अवस्था लामो समय रहँदा आगलागी हुने सम्भावना समेत रहने कम्पनीले स्वीकार गरेको छ ।
जर्मनीको सम्बन्धित निकायका अनुसार यो त्रुटिसँग सम्बन्धित केही घटनामा सम्पत्ति क्षति तथा व्यक्तिगत क्षति भएको जानकारी प्राप्त भएको छ । यद्यपि, कति वटा घटना भएका हुन् वा ती कति गम्भीर थिए भन्ने विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।
समस्या समाधानका लागि एमजीले आईएमसियु सफ्टवेयर अपडेट उपलब्ध गराउने तयारी गरेको छ । नयाँ सफ्टवेयरमार्फत फ्यान जमेको अवस्थामा प्रणालीलाई सुरक्षित रूपमा नियन्त्रण गरी अत्यधिक तापक्रम बढ्न नदिने व्यवस्था गरिने कम्पनीको भनाइ छ । हालसम्म रिकल सम्पन्न हुने निश्चित समयसीमा भने सार्वजनिक गरिएको छैन । कम्पनीले यो अभियानलाई आन्तरिक रूपमा आरई००५ कोडमार्फत सञ्चालन गरिरहेको जनाएको छ ।
एमजी एस५ ईभी सन् २०२५ देखि जर्मनीमा बिक्री सुरु भएको विद्युतीय कम्प्याक्ट एसयूभी हो । यसले एमजीको लोकप्रिय जेडएस ईभी मोडललाई प्रतिस्थापन गरेको थियो । चिनियाँ अटोमोबाइल समूह साइक को मोडुलर स्केलेबल प्लेटफर्म मा आधारित यो मोडल कम्पनीको नयाँ पुस्ताको विद्युतीय सवारीमध्ये एक मानिन्छ ।
विद्युतीय सवारीसाधनको प्रयोग तीव्र रूपमा बढिरहेका बेला यस्ता सुरक्षा सम्बन्धी रिकल अभियानले उत्पादक कम्पनीहरूले सम्भावित जोखिमलाई समयमै पहिचान गरी समाधान गर्नुपर्ने आवश्यकता झन् स्पष्ट पारेको छ । नेपालमा पनि विद्युतीय सवारीको बिक्री निरन्तर बढिरहेको अवस्थामा यस्ता अन्तर्राष्ट्रिय रिकल तथा सुरक्षा अपडेटहरू उपभोक्ताका लागि महत्त्वपूर्ण सूचना बन्न सक्छन् ।
स्रोत : Electrive / German Federal Motor Transport Authority (KBA)"