Newad1
Featured blog image

यामाहाको ‘ब्लु सर्ज’मा सहभागी हुन पटाया पुगे नेपालभरका डिलर

काठमाडौं । यामाहा नेपालले देशभरका आफ्ना डिलर तथा साझेदारलाई एउटै मञ्चमा जोड्ने उद्देश्यसहित थाइल्यान्डको पटायामा ‘ब्लु सर्ज–पावरिङ अहेड टुगेदर’ साझेदार भेला २०२६ आयोजना गरेको छ । जुलाई २७ देखि ३१ सम्म चल्ने कार्यक्रममा सहभागी हुन यामाहा नेपालको टोली र देशभरका डिलर पटाया प्रस्थान गरेका छन् ।

यामाहा नेपालका लागि यो केवल औपचारिक जमघट मात्र नभई, विगतको साझेदारीलाई सम्मान गर्दै आगामी यात्राको साझा लक्ष्य तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ । देशका विभिन्न सहरमा यामाहाको पहुँच विस्तारमा योगदान पुर्‍याएका डिलर तथा साझेदारलाई एकै स्थानमा भेला गराएर कम्पनीले सम्बन्ध, सिकाइ र सहकार्यलाई थप बलियो बनाउने लक्ष्य लिएको छ ।

एमएडब्लु राइड्स प्रालिका अध्यक्ष विष्णु कुमार अग्रवाल पनि यामाहा नेपालका कर्मचारी र डिलरसहित कार्यक्रममा सहभागी हुन थाइल्यान्ड जानुभएको छ । उहाँको सहभागिताले यामाहा नेपाल र यसको डिलर सञ्जालबीचको निरन्तर सहकार्य तथा आपसी भरोसालाई थप अर्थपूर्ण बनाएको कम्पनीको विश्वास छ ।

कार्यक्रममा यामाहा मोटरका अध्यक्ष हाजिमे आओटाको विशेष उपस्थिति रहने बताइएको छ । उहाँको उपस्थितिले नेपाली बजार र यहाँको डिलर नेटवर्कलाई यामाहाले दिएको महत्व झल्काउने अपेक्षा गरिएको छ । नेपाली साझेदारले यामाहाको विश्वव्यापी नेतृत्वसँग प्रत्यक्ष संवाद गर्दै ब्रान्डको आगामी रणनीति, बजारको दिशा र सम्भावित अवसरबारे जानकारी पाउनेछन् ।

‘ब्लु सर्ज–पावरिङ अहेड टुगेदर’ भन्ने मूल नाराले यामाहा नेपाल र यसका साझेदारबीचको साझा यात्रालाई प्रतिनिधित्व गर्छ । कार्यक्रममा डिलरहरूको योगदानलाई सम्मान गर्ने, विगतका उपलब्धिको समीक्षा गर्ने तथा आगामी वर्षका प्राथमिकता र लक्ष्यबारे छलफल गर्ने कार्यक्रम तय गरिएको छ ।

नेपालमा मोटरसाइकल तथा स्कुटर बजारको प्रतिस्पर्धा तीव्र बन्दै जाँदा बलियो डिलर सञ्जाल, बिक्रीपछिको सेवा र ग्राहकसँगको निरन्तर सम्बन्ध ब्रान्डका लागि महत्वपूर्ण आधार बन्दै आएको छ । यही सन्दर्भमा यामाहा नेपालले आफ्ना साझेदारलाई विदेशमा एउटै मञ्चमा जोडेर दीर्घकालीन सहकार्यप्रतिको प्रतिबद्धता देखाएको छ ।

कम्पनीका अनुसार, पटायामा हुने यो भेलापछि यामाहा नेपालका साझेदार नयाँ ऊर्जा, स्पष्ट साझा लक्ष्य र बजारमा अझ प्रभावकारी ढंगले अघि बढ्ने प्रतिबद्धतासहित स्वदेश फर्किनेछन् ।

footer