उत्कृष्ट प्रदर्शन गर्ने यामाहा डिलरले पाए सम्मान
काठमाडौं । वार्षिक कारोबारको दौडधुपबीच बिक्री, सेवा र ग्राहकसम्बन्धलाई बलियो बनाउने साझेदारहरूको मेहनतलाई यामाहा नेपालले यसपटक देशबाहिर पुगेर सम्मान गरेको छ । पाँचदिने भ्रमण सकेर डिलर तथा कम्पनी टोली स्वदेश फर्किएसँगै यामाहाको आगामी योजना र विद्युतीय दुईपांग्रे बजारबारे पनि चासो बढेको छ ।
यामाहा नेपालको ‘ब्लु सर्ज–पावरिङ अहेड टुगेदर’ साझेदार भेटघाट सन् २०२६ थाइल्यान्डको पटायादेखि बैंककसम्म आयोजना गरिएको थियो । साउन ११ देखि १५ गतेसम्म चलेको कार्यक्रममा देशभरका डिलर, यामाहा नेपालका प्रतिनिधि तथा व्यवस्थापन टोली सहभागी थिए ।
कार्यक्रममा गत वर्ष उत्कृष्ट प्रदर्शन गरेका डिलर तथा सेवा केन्द्रलाई विभिन्न विधामा सम्मान गरिएको कम्पनीले जनाएको छ । विराटचोकको बी एन्ड बी अटो ट्रेडर्सले उत्कृष्ट सामाजिक सञ्जाल उपस्थिति तथा उत्कृष्ट डिलर श्रेणी ए–१ पुरस्कार पाएको छ ।
नेपालगन्जको एम ए डब्ल्युले खुद्रा कर्जा विस्तारतर्फ उत्कृष्ट पुरस्कार पाउँदा ग्वार्कोको लुम्बिनी अटो वर्क्सले स्पेयर पार्ट्सतर्फ उत्कृष्टताको सम्मान पायो । हेटौंडाको राज मोटर्सले उत्कृष्ट सेवा तथा उत्कृष्ट डिलर श्रेणी ए–२ पुरस्कार हात पारेको छ ।
त्यस्तै, पोखराको भी ए डब्ल्यु इन्टरप्राइजेजले सर्वाधिक वार्षिक मर्मत सम्झौता बिक्री पुरस्कार पाएको छ । मेहेलकुनाको दीपेश इन्जिनियरिङ अटो पार्ट्स एन्ड सप्लायर्स उत्कृष्ट डिलर श्रेणी ए–० तथा नारायणघाटको नवीन अटो सेन्टर उत्कृष्ट डिलर श्रेणी ए–३ घोषित भएका छन् ।
यामाहा मोटर इन्डिया समूहका अध्यक्ष हाजिमे आओटाले नेपाललाई समूहका महत्वपूर्ण बजारमध्ये एक भएको बताएका छन् । उनले नेपालमा विद्युतीय सवारीप्रतिको आकर्षण तीव्र गतिमा बढिरहेकाले भारतबाहिर यामाहा ब्रान्डको इ–जिरो शृंखलाका विद्युतीय मोटरसाइकल पहिलो पटक नेपालमै ल्याउने तयारी गरिएको जानकारी दिए ।
नेपालमा पेट्रोल मोटरसाइकलसँगै विद्युतीय दुईपांग्रेको विकल्प खोज्ने ग्राहक बढिरहेका बेला यामाहाको यस्तो संकेतलाई बजारले चासोका साथ हेर्नेछ । मूल्य, मोडल, ब्याट्री क्षमता र सार्वजनिक हुने समयबारे भने कम्पनीले विस्तृत जानकारी दिएको छैन ।
एम ए डब्ल्यु राइड्सका अध्यक्ष विष्णुकुमार अग्रवालले यामाहाले वार्षिक लक्ष्यभन्दा बढी उपलब्धि हासिल गरेकाले डिलर नेटवर्कको योगदानलाई सम्मान गर्न थाइल्यान्ड भ्रमण आयोजना गरिएको बताए । आगामी वर्ष पनि बिक्री, सेवा र व्यवसाय विस्तारमा यही सहकार्यलाई थप सुदृढ बनाइने उनको भनाइ छ ।
औपचारिक भेटघाट र सम्मान कार्यक्रमसँगै सहभागीले कोरल टापु भ्रमण, बैंकक सहर तथा मन्दिर अवलोकन, किनमेल र साँझको जलयात्रामा पनि सहभागी भएका थिए । कम्पनीले यस भ्रमणले डिलर नेटवर्कबीचको सम्बन्ध र आगामी वर्षको व्यावसायिक तयारीलाई थप मजबुत बनाएको विश्वास लिएको छ ।