३.२८ अर्ब डलर लगानीपछि सीएटीएल को नयाँ सुरक्षा प्रणाली
काठमाडौं । विश्वकै अग्रणी विद्युतीय सवारी (ईभी) ब्याट्री निर्माता सीएटीएल (कन्टेम्पोररी एम्पेरेक्स टेक्नोलोजी कम्पनी लिमिटेड) ले ईभी ब्याट्रीको सुरक्षा थप मजबुत बनाउन दुई नयाँ सुरक्षा पेटेन्ट सार्वजनिक गरेको छ । कम्पनीले यी प्रविधिमार्फत दुर्घटनाका बेला ब्याट्रीमा आगलागी हुने जोखिम कम गर्नुका साथै बढ्दो बीमा लागत नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।
जुन १६, २०२६ मा स्वीकृत भएका यी नयाँ पेटेन्टहरूले विशेषगरी सवारी दुर्घटनाका क्रममा ब्याट्री प्याकमा हुने संरचनात्मक क्षतिलाई न्यून गर्दै थर्मल रनअवे र सर्ट सर्किट जस्ता गम्भीर समस्याबाट जोगाउने उद्देश्य राखेका छन्।
क्याटिएलले सन् २०२५ मा मात्रै अनुसन्धान तथा विकास (आर एन्ड डी) मा २२.१४७ अर्ब युआन (करिब ३.२८ अर्ब अमेरिकी डलर) लगानी गरेको थियो। यससँगै कम्पनीको कुल पेटेन्ट संख्या २५ हजार ४६ पुगेको छ ।
बसबार सुरक्षा प्रणालीमा नयाँ प्रविधि
लिक्विड कूलिङ प्रणालीका लागि थप सुरक्षा
कडा सुरक्षा मापदण्डसँग मेल खाने तयारी
चीनको बजारमा अझै क्याटिएलकै दबदबा
पहिलो पेटेन्टमा ब्याट्री प्याकभित्र रहेको बसबार तथा विद्युतीय टर्मिनललाई दुर्घटनाका बेला सुरक्षित राख्ने विशेष संरचना विकास गरिएको छ ।
यस प्रविधिअन्तर्गत प्रत्येक ब्याट्री सेललाई सहायक सपोर्ट संरचनासँग जोडिएको छ, जसले बाह्य ठक्करबाट उत्पन्न हुने दबाबलाई संवेदनशील विद्युतीय कनेक्सनमा पुग्न नदिई पहिले आफैंले अवशोषित गर्छ ।
यसले बसबार वा टर्मिनल भाँचिने सम्भावना घटाउनुका साथै आन्तरिक सर्ट सर्किट भएर आगलागी हुने जोखिमलाई उल्लेखनीय रूपमा कम गर्ने कम्पनीको दाबी छ ।
दोस्रो पेटेन्टले ब्याट्रीको लिक्विड कूलिङ प्रणालीलाई बाह्य क्षतिबाट जोगाउने नयाँ संरचनामा केन्द्रित छ ।
यसमा कूलिङ पाइपमाथि लचिलो सुरक्षात्मक तह र अन्य भागमा बलियो प्रतिरोधी संरचना प्रयोग गरिएको छ। दुर्घटना वा सडकमा रहेका ढुंगा तथा अन्य वस्तुको प्रहार हुँदा क्षति कूलिङ लाइनमा नभई बलियो संरचनामा केन्द्रित हुने गरी डिजाइन गरिएको छ ।
यसले कूलिङ फ्लुइड चुहिने सम्भावना घटाउने, विद्युतीय प्रणालीलाई सुरक्षित राख्ने तथा ब्याट्रीको ताप व्यवस्थापन प्रणालीलाई निरन्तर सञ्चालनमा राख्न मद्दत गर्ने बताइएको छ ।
चीनमा लागू भएका नयाँ ईभी सुरक्षा मापदण्डअनुसार गम्भीर दुर्घटनापछि पनि ब्याट्रीमा आगो नलाग्ने प्रणाली विकास गर्नुपर्ने आवश्यकता बढिरहेको छ ।
सोलिड-स्टेट ब्याट्री प्रविधि अझै ठूलो मात्रामा व्यावसायिक उत्पादनमा नपुगेकाले हाल प्रयोग भइरहेका लिक्विड-इलेक्ट्रोलाइट ब्याट्रीको सुरक्षा स्तर अझै उच्च बनाउने दिशामा क्याटिएलले आफ्नो अनुसन्धान केन्द्रित गरेको देखिन्छ ।
विशेषज्ञहरूका अनुसार सन् २०३० अघि व्यापक रूपमा सोलिड-स्टेट ब्याट्री प्रयोगमा आउन समय लाग्ने भएकाले हालकै ब्याट्री प्रविधिलाई सुरक्षित बनाउनु उद्योगका लागि महत्वपूर्ण चुनौती बनेको छ ।
चीन ईभी डाटाट्र्याकरका अनुसार मे २०२६ मा क्याटिएलले ३३.०८ गिगावाट-घण्टा बराबर ब्याट्री जडान गर्दै ४६.७ प्रतिशत घरेलु बजार हिस्सा कायम राखेको छ ।
यस अवधिमा बीवाईडी ११.८७ गिगावाट-घण्टा सहित दोस्रो स्थानमा रहँदा गोसन हाई-टेक ले ४.४४ गिगावाट-घण्टा र सीएएलबी ले ४.३१ गिगावाट-घण्टा ब्याट्री जडान गर्दै क्रमशः तेस्रो र चौथो स्थान ओगटेका छन् ।
नयाँ सुरक्षा प्रविधिसँगै क्याटिएलले ईभी ब्याट्रीको विश्वसनीयता, उपभोक्ता सुरक्षा र उद्योगको भविष्यलाई अझ मजबुत बनाउने रणनीतिलाई तीव्रता दिएको विश्लेषण गरिएको छ ।