गाडी कि जेनेरेटर ? मित्सुबिसीको नयाँ ईभीले दुवै काम गर्छ
काठमाडौँ । इलेक्ट्रिक गाडी केवल यात्राका लागि मात्र होइन, आपतकालीन अवस्थामा घरका विद्युतीय उपकरण चलाउने ऊर्जा स्रोत पनि बन्न सक्छ भन्ने उदाहरण जापानी अटो निर्माता Mitsubishi Motors ले प्रस्तुत गरेको छ । कम्पनीले आफ्नो लोकप्रिय केई-कार ईभी eK Cross EV लाई नयाँ अपडेटसहित सार्वजनिक गरेको छ, जसमा गाडीलाई ‘मोबाइल पावर बैंक’ जस्तै प्रयोग गर्न सकिने सुविधा थपिएको छ ।नयाँ eK Cross EV मा 100V AC आउटलेट जडान गरिएको छ, जसबाट १,५०० वाटसम्मका विद्युतीय उपकरण सञ्चालन गर्न सकिन्छ । यसले क्याम्पिङका क्रममा विभिन्न उपकरण चलाउन मात्र होइन, विद्युत् आपूर्ति अवरुद्ध भएको अवस्थामा घरका आवश्यक उपकरणलाई समेत अस्थायी रूपमा ऊर्जा उपलब्ध गराउन सक्छ ।
डिजाइनमा पनि परिवर्तन
अपडेट गरिएको मोडलमा मित्सुबिसीको चर्चित ‘डाइनामिक शिल्ड’ फ्रन्ट ग्रिल हटाइएको छ । यसको स्थानमा बडी-कलर ट्रिम, नयाँ बम्पर र आकर्षक एलईडी लाइट बार दिइएको छ । यसले गाडीलाई अघिल्लो संस्करणभन्दा अझ सफा र आधुनिक देखिने बनाएको छ ।
साइड प्रोफाइलमा पनि केही परिवर्तन गरिएको छ । ह्वील आर्च र साइड स्कर्टमा प्रयोग हुने प्लास्टिक क्ल्याडिङ हटाइएकाले डिजाइन अझ सरल र परिष्कृत बनेको छ। साथै, पाँच नयाँ डुअल-टोन र दुई नयाँ रंग थपिएसँगै अब यो ईभी ११ विभिन्न रंग विकल्पमा उपलब्ध हुनेछ ।
सानो आकार, उपयोगी फिचर
क्याबिनभित्र नयाँ पावर आउटलेटसँगै उच्च संस्करण ‘P’ ट्रिममा दुईवटा USB-C र एउटा USB-A पोर्ट थपिएको छ । मध्यम स्तरको ‘G’ भेरियन्टमा पनि अब हिटेड स्टेयरिङ ह्वील र हिटेड फ्रन्ट सिट स्ट्यान्डर्ड रूपमा उपलब्ध छन् ।
सुरक्षातर्फ सबै भेरियन्टमा ‘रियर सिट अलर्ट’ प्रणाली समावेश गरिएको छ, जसले पछाडिको सिटमा सामान वा बच्चा छुट्न नदिन चालकलाई सचेत गराउँछ ।
ब्याट्री र रेन्ज यथावत्
यद्यपि बाहिरी र भित्री भागमा सुधार गरिएको भए पनि पावरट्रेनमा कुनै परिवर्तन गरिएको छैन । यसमा २० किलोवाट-घण्टा क्षमताको लिथियम-आयन ब्याट्री प्याक प्रयोग गरिएको छ ।
इलेक्ट्रिक मोटरले ६३ हर्सपावर शक्ति र १९५ एनएम टर्क उत्पादन गर्छ। जापानको WLTC मापदण्डअनुसार यसको एकपटकको पूर्ण चार्जमा अधिकतम १८० किलोमिटर रेन्ज उपलब्ध हुन्छ, जुन मुख्यतः शहरी यात्रालाई लक्षित गरेर डिजाइन गरिएको हो ।
मूल्य कति ?
जापानमा नयाँ eK Cross EV को मूल्य २४ लाख ४६ हजार येन (करिब २२ लाख २० हजार नेपाली रुपैयाँ) बाट सुरु भएर ३२ लाख १४ हजार येन (करिब २९ लाख २० हजार नेपाली रुपैयाँ) सम्म पुगेको छ ।
तर जापान सरकारले उपलब्ध गराउने ईभी अनुदानपछि यसको प्रारम्भिक मूल्य घटेर १८ लाख ७२ हजार येन अर्थात् करिब १७ लाख नेपाली रुपैयाँ हाराहारीमा झर्छ । यही कारणले यसलाई जापानको सबैभन्दा किफायती इलेक्ट्रिक कारमध्ये एक मानिएको छ ।
छोटो दूरीका दैनिक यात्राका लागि बनाइएको यो सानो ईभी अब केवल गाडी मात्र नभई आवश्यकता पर्दा ‘चल्तीको जेनेरेटर’ समेत बन्न सक्ने भएकाले जापानी बजारमा यसको आकर्षण थप बढ्ने अपेक्षा गरिएको छ ।