Newad1
Featured blog image

घट्यो बजाज बाइकको ईएमआई, अब ५ वर्षसम्मको फाइनान्स सुविधा

काठमाडौँ । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज, किफायती र पहुँचयोग्य बनाउने उद्देश्यका साथ हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (एचएफएल) सँगको सहकार्यमा नयाँ फाइनान्सिङ योजना सार्वजनिक गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको नयाँ योजनाअनुसार अब बजाज मोटरसाइकल खरिद गर्दा अधिकतम ५ वर्ष अर्थात् ६० महिनासम्मको ऋण सुविधा उपलब्ध हुनेछ । यसअघि अधिकांश ग्राहकले ३ वर्षको अवधिसम्म मात्र फाइनान्स सुविधा पाउँदै आएका थिए । ऋण अवधि बढाइएसँगै मासिक किस्ता उल्लेख्य रूपमा घट्ने भएकाले विशेषगरी पहिलो पटक मोटरसाइकल खरिद गर्ने युवा, जागिरे, विद्यार्थी तथा मासिक बजेटलाई प्राथमिकतामा राख्ने ग्राहकले प्रत्यक्ष लाभ पाउने कम्पनीको विश्वास छ ।

यस योजनाको अर्को आकर्षक पक्ष भनेको ब्याजदरमा गरिएको कटौती हो । कम्पनीले फाइनान्सिङ ब्याजदर ९.९९ प्रतिशतबाट घटाएर ८.९९ प्रतिशत कायम गरेको जनाएको छ । ब्याजदर घटेपछि ग्राहकको मासिक आर्थिक भार कम हुने र मोटरसाइकल स्वामित्व अझ सहज बन्ने अपेक्षा गरिएको छ ।

यो सुविधा प्लाटिना १०० ईएसदेखि डोमिनार ४००सम्मका सबै बजाज मोटरसाइकलमा लागू हुने कम्पनीले जनाएको छ । नयाँ फाइनान्सिङ संरचनाअनुसार प्लाटिना १०० ईएस खरिद गर्दा मासिक किस्ता करिब ३ हजार २५५ रुपैयाँबाट घटेर करिब २ हजार १२४ रुपैयाँमा झरेको छ । यसले ग्राहकलाई हरेक महिना करिब १ हजार १३१ रुपैयाँसम्म बचत गर्ने अवसर दिने कम्पनीको दाबी छ ।

त्यसैगरी, डोमिनार ४०० खरिद गर्ने ग्राहकका लागि मासिक किस्ता करिब ८ हजार २२७ रुपैयाँबाट घटेर करिब ५ हजार ३७० रुपैयाँ पुगेको छ । यसअनुसार ग्राहकले प्रत्येक महिना करिब २ हजार ८५७ रुपैयाँसम्म बचत गर्न सक्नेछन् ।

कम्पनीका अनुसार पल्सर १२५, पल्सर एन१२५, पल्सर १५०, पल्सर एन१५०, पल्सर एन१६०, पल्सर २२०एफ, पल्सर एनएस२००, पल्सर एन२५० तथा एनएस४००जेडलगायत सबै प्रमुख मोडलमा पनि मासिक किस्ता घटाइएको छ । यसले ग्राहकलाई आफ्नो आवश्यकता र आर्थिक क्षमताअनुसार उपयुक्त मोडल छनोट गर्न थप सहज बनाउने विश्वास गरिएको छ ।

एचएच बजाजका अनुसार यो कुनै सीमित अवधिको छुट योजना नभई ग्राहकको वास्तविक आवश्यकता र बजारको मागलाई ध्यानमा राखेर ल्याइएको दीर्घकालीन फाइनान्सिङ व्यवस्था हो । पछिल्लो समय मोटरसाइकलको मूल्यभन्दा पनि मासिक किस्ताको भार धेरै ग्राहकका लागि चुनौती बन्दै गएको अवस्थालाई मध्यनजर गर्दै ऋण अवधि विस्तार र ब्याजदर घटाउने निर्णय गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले ग्राहकको सुविधालाई केन्द्रमा राखेर ल्याइएको यो योजनाले अझ धेरै नेपालीलाई सहज मासिक किस्तामार्फत आफूले चाहेको बजाज मोटरसाइकलको स्वामित्व लिन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ । आगामी दिनमा पनि ग्राहकको आवश्यकता र बजारको मागअनुसार यस्ता ग्राहकमैत्री योजना ल्याउने प्रतिबद्धता कम्पनीले जनाएको छ ।

नेपाल राष्ट्र बैंकको नियमनअन्तर्गत सञ्चालनमा रहेको हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (एचएफएल) मार्फत उपलब्ध हुने यो फाइनान्स सुविधा देशभर रहेका एचएच बजाजका आधिकारिक शोरुमबाट लिन सकिने कम्पनीले जानकारी दिएको छ ।

footer