स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प ट्रक नेपाल आउँदै
काठमाडौं । जगदम्बा मोटर्सले स्याक्म्यानका एक्स–५०००ई ६×४ विद्युतीय ट्र्याक्टर र एक्स–५०००ई ६×४ विद्युतीय डम्प ट्रक नेपाली बजारमा ल्याउने भएको छ । कम्पनीले यी मोडलमार्फत नेपालमा भारी विद्युतीय व्यावसायिक सवारीसाधन बिक्री सुरु गर्न लागेको हो ।
एक्स–५०००ई विद्युतीय ट्र्याक्टर भारी
सामान ढुवानी तथा व्यावसायिक यातायातलाई लक्षित गरी तयार गरिएको छ । त्यस्तै,
एक्स–५०००ई विद्युतीय डम्प ट्रक निर्माण, खानी तथा भारी सामान ओसारपसार हुने
कार्यका लागि डिजाइन गरिएको कम्पनीले जनाएको छ ।
दुवै मोडलमा स्याक्म्यानको विद्युतीय
पावर प्रणाली, फास्ट चार्जिङ सुविधा तथा स्मार्ट कन्ट्रोल र ब्याट्री म्यानेजमेन्ट
सिस्टम दिइएको छ । कम्पनीका अनुसार यी प्रणालीले विभिन्न कार्यस्थलमा सवारीको
प्रभावकारी सञ्चालन र चार्जिङ समय व्यवस्थापनमा सहयोग गर्नेछन् ।
नेपालमा विद्युतीय सवारीको प्रयोग
यात्रुवाहक तथा हलुका व्यावसायिक सवारीबाट विस्तार हुँदै गइरहेका बेला
स्याक्म्यानका यी मोडलले भारी ढुवानी, निर्माण र खानी क्षेत्रमा नयाँ विद्युतीय
विकल्प थप्नेछन् । दुवै मोडल सार्वजनिक हुने मिति, नेपाली मूल्य र उपलब्धताबारे
जगदम्बा मोटर्सले पछि जानकारी दिने जनाएको छ ।