नयाँ दिपल एस०५को आकर्षण : ६२० किलोमिटर रेन्जदेखि सुपरचार्जिङसम्म
काठमाडौं । आकर्षक डिजाइन र लामो रेन्जका कारण विद्युतीय एसयूभी बजारमा चर्चा कमाएको एउटा मोडल अब थप बुद्धिमान बनेर आएको छ । बाहिरी रूपको सामान्य परिमार्जनभन्दा अगाडि बढ्दै यसमा चालकलाई सहरी सडकदेखि राजमार्ग र पार्किङसम्म सहयोग गर्ने नयाँ प्रविधि थपिएको छ ।
चांगानले चीनमा परिमार्जित दिपल एस०५ सार्वजनिक गरेको हो । पाँच भेरियन्टमा उपलब्ध नयाँ मोडलको सीमित अवधिको सुरुवाती मूल्य १ लाख १५ हजार ९०० युआन तोकिएको छ भने माथिल्लो भेरियन्टको मूल्य १ लाख ४४ हजार ९०० युआनसम्म पुग्छ ।
नयाँ एस०५को सबैभन्दा महत्वपूर्ण
सुधार छानामा जडान गरिएको लाइडार सेन्सर हो । यससँगै तीनवटा मिलिमिटर वेभ राडार,
१२ वटा अल्ट्रासोनिक राडार र ११ वटा उच्च गुणस्तरका क्यामेरासहित गाडीमा कुल २७
वटा सेन्सर प्रयोग गरिएको छ ।
यी उपकरणलाई दुईवटा होराइजन जे६एम चिपले सञ्चालन गर्छन्, जसले संयुक्त रूपमा २५६ टप्स कम्प्युटिङ क्षमता दिन्छ । कम्पनीका अनुसार यस प्रणालीले सहरी सडक, राजमार्ग र पार्किङसँग सम्बन्धित ९० भन्दा बढी चालक सहायता सुविधा उपलब्ध गराउँछ ।
दिपल एस०५मा सीएटीएलको ५६.१२ र ६८.८२
किलोवाट आवर क्षमताका एलएफपी ब्याट्री विकल्प छन् । सानो ब्याट्रीले सीएलटीसी
मापदण्डअनुसार ५२० किलोमिटर तथा ठूलो ब्याट्रीले ६२० किलोमिटरसम्मको रेन्ज दिने
दाबी गरिएको छ ।
सबै भेरियन्टमा थ्री–सी
सुपरचार्जिङलाई मानक सुविधाका रूपमा राखिएको छ । यसबाट ब्याट्रीलाई ३० प्रतिशतबाट
८० प्रतिशतसम्म चार्ज गर्न १५ मिनेट वा त्यसभन्दा कम समय लाग्ने कम्पनीको भनाइ छ ।
यसको पछाडिको एकल मोटरले २७२ हर्सपावर
शक्ति उत्पादन गर्छ । गाडीले स्थिर अवस्थाबाट प्रतिघण्टा १०० किलोमिटरको गति
समात्न ६.२८ सेकेन्ड लगाउँछ ।
नयाँ मोडलको बाहिरी डिजाइनमा ठूलो परिवर्तन नगरी सानातिना परिमार्जन गरिएको छ । यसमा नयाँ सजावटी लाइन, फ्रेमरहित ढोका, सेमी–हिडन डोर ह्यान्डल र १८ इन्चका नयाँ ह्विल दिइएको छ । गाडीको लम्बाइ ४ हजार ६२० मिलिमिटर, चौडाइ १ हजार ९०० मिलिमिटर र उचाइ १ हजार ६०० मिलिमिटर छ । यसको ह्विलबेस २ हजार ८८० मिलिमिटर रहेको छ ।
भित्री भागमा चालक वा अगाडिको
यात्रुतर्फ १५ डिग्रीसम्म घुम्न सक्ने १५.६ इन्चको टचस्क्रिन दिइएको छ । यससँगै ५०
इन्चको अग्मेन्टेड रियालिटी हेड–अप डिस्प्ले, दिपल ओएस ४.२ सञ्चालन प्रणाली र तीन
नानोमिटर प्रविधिमा बनेको चिप प्रयोग गरिएको छ ।
व्यावहारिकतामा पनि सुधार गर्दै गाडीभित्र ३७ वटा सामान राख्ने स्थान बनाइएको छ । पछाडिको डिकीले ४९२ लिटर र अगाडिको फ्रङ्कले १५९ लिटर ठाउँ उपलब्ध गराउँछ । माथिल्लो विकल्पमा १८ वटा स्पिकर भएको ध्वनि प्रणाली पनि रोज्न सकिन्छ ।
दिपल एस०५ चीनमा मात्र सीमित मोडल
होइन । यो विभिन्न अन्तर्राष्ट्रिय बजारमा बिक्री भइरहेको विश्वव्यापी मोडल हो ।
नेपालमा पनि दिपल ब्रान्डको उपस्थिति स्थापित भइसकेकाले यसमा गरिएको सुधार नेपाली
ग्राहकका लागि समेत चासोको विषय बन्न सक्छ । यद्यपि परिमार्जित संस्करण नेपाल आउने
समय र यहाँ उपलब्ध हुने विशेषताबारे आधिकारिक जानकारी सार्वजनिक भएको छैन ।
नयाँ एस०५ले लामो रेन्ज वा तीव्र चार्जिङमा मात्र प्रतिस्पर्धा गर्न खोजेको देखिँदैन । लाइडार, उच्च कम्प्युटिङ क्षमता र विस्तारित चालक सहायता प्रणालीमार्फत दिपलले मध्यम आकारको विद्युतीय एसयूभीमा प्रविधिलाई मुख्य प्रतिस्पर्धात्मक आधार बनाएको छ ।