Newad1
Featured blog image

नयाँ एलान्ट्रा किन्न किन उर्लिए ग्राहक ? पहिलो दिनमै तोडियो पुरानो कीर्तिमान

काठमाडौं । विश्व अटोमोबाइल बजारको ध्यान विद्युतीय गाडी र एसयूभीतर्फ केन्द्रित भइरहेका बेला परम्परागत सेडानले अझै ग्राहक तान्न सक्छ भन्ने एउटा रोचक उदाहरण दक्षिण कोरियामा देखिएको छ । नयाँ पुस्ताको एउटा सेडानप्रति देखिएको सुरुवाती आकर्षणले बजारमा सेडानको भविष्यबारे भइरहेको बहसलाई फेरि चर्चामा ल्याएको छ ।

हुन्डाईको आठौँ पुस्ताको नयाँ एलान्ट्रा, जसलाई दक्षिण कोरियामा एभान्ते नामले बिक्री गरिन्छ, ले अर्डर खुला भएको पहिलो दिनमै ११ हजार ९४ वटा सम्झौता हासिल गरेको छ । यो एलान्ट्राको इतिहासमै पहिलो दिन प्राप्त भएको सबैभन्दा ठूलो अर्डर हो ।

यसअघि सातौँ पुस्ताको एलान्ट्राले सन् २०२० को अप्रिलमा पहिलो दिन १० हजार ५८ वटा अर्डर पाएको थियो । नयाँ पुस्ताले उक्त कीर्तिमानसमेत तोडेको छ ।

यो उपलब्धिको अर्को रोचक पक्ष भनेको ग्राहकको रोजाइ हो । नयाँ एलान्ट्रा खरिद गर्नेहरूमध्ये ठूलो संख्या आधारभूत संस्करणभन्दा बढी सुविधा र प्रविधि भएका माथिल्लो ट्रिमतर्फ आकर्षित भएको देखिएको छ ।

हुन्डाई मोटर कम्पनीका अनुसार पहिलो दिनको कुल अर्डरमध्ये सबैभन्दा माथिल्लो इन्स्पिरेशन ट्रिमको हिस्सा ५२ प्रतिशत पुगेको छ । प्रिमियम ट्रिमले २४ प्रतिशत र मोडर्न ट्रिमले पनि २४ प्रतिशत हिस्सा लिएको छ ।

अघिल्लो पुस्तामा आधारभूत मोडर्न ट्रिमको हिस्सा करिब ४ प्रतिशत मात्रै थियो । नयाँ पुस्तामा यही ट्रिमको हिस्सा २४ प्रतिशत पुग्नुले सुरुवाती संस्करणमै थप सुविधा उपलब्ध गराउने रणनीतिले ग्राहकको ध्यान तानेको देखाउँछ ।


नयाँ एलान्ट्रामा नेभिगेसनमा आधारित स्मार्ट क्रुज कन्ट्रोल २, हाइवे ड्राइभिङ असिस्ट २, आपतकालीन अवस्थामा काम गर्ने इलेक्ट्रोनिक सिफ्ट प्रणाली र दुईवटा स्मार्टफोन एकैपटक ताररहित चार्ज गर्न सकिने सुविधा जस्ता प्रविधि उपलब्ध गराइएको छ ।

यसको डिजिटल पक्षमा पनि हुन्डाईले ठूलो परिवर्तन गरेको छ । नयाँ पुस्तामा प्लियोस कनेक्ट इन्फोटेनमेन्ट प्रणाली र ओटीए सफ्टवेयर अपडेटलाई प्राथमिकता दिइएको छ । यसमार्फत गाडीको सफ्टवेयर तथा विभिन्न डिजिटल सुविधालाई सर्भिस सेन्टर नपुगी अद्यावधिक गर्न सकिने व्यवस्था गरिएको छ ।


हाइब्रिडतर्फ पनि बढ्यो आकर्षण

नयाँ एलान्ट्राको सुरुवाती अर्डरले अर्को महत्त्वपूर्ण संकेत हाइब्रिड प्रविधितर्फ दिएको छ । कुल अर्डरमध्ये २७ दशमलव ५ प्रतिशत ग्राहकले हाइब्रिड संस्करण रोजेका छन् ।

अघिल्लो पुस्तामा हाइब्रिडको हिस्सा १४ दशमलव ८ प्रतिशत थियो । यस हिसाबले नयाँ पुस्तामा हाइब्रिड रोज्ने ग्राहकको अनुपात झन्डै दोब्बर नजिक पुगेको छ ।

हाइब्रिड संस्करणको आधिकारिक इन्धन खपत परीक्षण पूरा भइसकेको छैन । तर अघिल्लो पुस्ताको तुलनामा इन्धन दक्षतामा १० प्रतिशतभन्दा बढी सुधार हुन सक्ने प्रारम्भिक अपेक्षा गरिएको छ ।

पेट्रोल संस्करणमा पनि नयाँ २ दशमलव शून्य लिटर इन्जिन प्रयोग गरिएको छ । नयाँ इन्जिनले अघिल्लो संस्करणको तुलनामा २६ हर्सपावर बढी शक्ति दिने बताइएको छ भने संयुक्त इन्धन खपत प्रतिलिटर १४ दशमलव ३ किलोमिटरसम्म रहने उल्लेख गरिएको छ ।

ईभी र एसयूभीको तीव्र विस्तारबीच एउटा परम्परागत सेडानले पहिलो दिनमै ११ हजारभन्दा बढी ग्राहक जुटाउनु आफैंमा महत्त्वपूर्ण संकेत हो । नयाँ एलान्ट्राको सुरुवातले सेडानको बजार सकिएको होइन, ग्राहकको अपेक्षा र रोजाइ बदलिएको हो भन्ने सन्देश दिएको छ । 


footer