Newad1
Featured blog image

भारतले पायो निसान टेकटन, अब नेपालको पालो ?

काठमाडौं । जापानी अटोमोबाइल निर्माता निसानले भारतीय बजारमा बहुप्रतिक्षित मिड–साइज एसयूभी टेकटन (Tekton) औपचारिक रूपमा सार्वजनिक गरेको छ । नयाँ रेनो डस्टरसँग एउटै प्लेटफर्ममा आधारित टेकटनलाई निसानले आफ्नै डिजाइन, प्रिमियम फिचर तथा उच्च सुरक्षा प्रविधिसहित बजारमा उतारेको हो । कम्पनीले यसलाई हुन्डाई क्रेटा, किया सेल्टोस, मारुति सुजुकी ग्रान्ड भिटारा, टोयोटा हाइराइडर, फक्सवागन टाइगुन र स्कोडा कुशाकसँग प्रतिस्पर्धा गर्ने गरी विकास गरेको जनाएको छ ।

भारतीय बजारमा टेकटनको सुरुआती एक्स–शोरुम मूल्य १०.४९ लाख भारतीय रुपैयाँ निर्धारण गरिएको छ भने उच्च भेरियन्टको मूल्य १८.५९ लाख रुपैयाँ सम्म पुगेको छ । कम्पनीले सार्वजनिक भएकै दिनदेखि २१ हजार रुपैयाँ टोकन रकममा बुकिङ खुला गरेको छ भने ग्राहकलाई डेलिभरी जुलाई २० देखि सुरु गर्ने तयारी गरेको छ ।

यससँगै नेपाली बजारमा पनि टेकटनको प्रतीक्षा थप बढेको छ । नेपालका लागि निसानको आधिकारिक वितरक पायोनियर मोटोकर्प ले केही दिनअघि सामाजिक सञ्जालमार्फत टेकटनको झल्को देखाएको थियो । त्यसैले आगामी श्रावणको अन्तिम साता आयोजना हुने NAIMA Mobility Expo 2026 मा यो एसयूभी नेपालमा पहिलोपटक सार्वजनिक हुने सम्भावना बलियो देखिएको छ । यद्यपि कम्पनीले हालसम्म आधिकारिक रूपमा लन्च मिति भने घोषणा गरेको छैन ।

नयाँ प्लेटफर्म, नयाँ पहिचान

टेकटन रेनो–निसान–मित्सुबिसी एलायन्सको CMF-B प्लेटफर्ममा आधारित छ । यही प्लेटफर्ममा नयाँ रेनो डस्टर पनि निर्माण गरिएको भए पनि निसानले टेकटनलाई पूर्ण रूपमा छुट्टै पहिचान दिने गरी बाहिरी तथा भित्री डिजाइन परिवर्तन गरेको छ ।

अगाडिको भागमा ठूलो ग्रिल, आकर्षक C-आकारका एलईडी डीआरएल, स्लिम हेडल्याम्प, मस्कुलर बोनट तथा फुल–विड्थ एलईडी लाइट बार प्रयोग गरिएको छ । पछाडिको डिजाइनमा निसान पेट्रोलबाट प्रेरित टेलल्याम्प दिइएको छ । यही कारण अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले टेकटनलाई ‘बेबी पेट्रोल’ भनेर समेत चर्चा गरेका छन् ।

दुई टर्बो पेट्रोल इन्जिन

भारतीय बजारका लागि टेकटनमा दुईवटा टर्बो पेट्रोल इन्जिनको विकल्प उपलब्ध गराइएको छ । १.० लिटर टर्बो पेट्रोल, १.३ लिटर टर्बो पेट्रोल

यी इन्जिनसँग ६-स्पिड म्यानुअल, सीभीटी तथा डुअल–क्लच अटोमेटिक (DCT) ट्रान्समिसनको विकल्प उपलब्ध छ । हालका लागि कम्पनीले हाइब्रिड वा डिजेल संस्करण सार्वजनिक गरेको छैन ।

प्रिमियम क्याबिन

टेकटनको क्याबिनलाई आधुनिक प्रविधिले भरिएको बनाइएको छ । यसमा ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, पूर्ण डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, वायरलेस एन्ड्रोइड अटो तथा एप्पल कारप्ले, वायरलेस चार्जर, प्यानोरामिक सनरुफ, डुअल–जोन क्लाइमेट कन्ट्रोल, एम्बियन्ट लाइटिङ, भेन्टिलेटेड फ्रन्ट सिट, प्रिमियम साउन्ड सिस्टम तथा मल्टिपल ड्राइभ मोड उपलब्ध छन् ।

सुरक्षामा पाँच तारे आत्मविश्वास

सुरक्षाका हिसाबले टेकटन आफ्नो सेग्मेन्टकै बलियो दाबेदार बनेको छ । यो एसयूभीले सार्वजनिक हुनुअघि नै भारत NCAP बाट ५-स्टार सेफ्टी रेटिङ प्राप्त गरेको छ ।

यसमा ६ एयरब्याग, लेभल–२ ADAS, अटो इमर्जेन्सी ब्रेकिङ, लेन किप असिस्ट, अडेप्टिभ क्रुज कन्ट्रोल, ब्लाइन्ड स्पट मनिटर, ३६० डिग्री क्यामेरा, फ्रन्ट तथा रियर पार्किङ सेन्सर, इलेक्ट्रोनिक पार्किङ ब्रेक तथा इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल जस्ता अत्याधुनिक सुरक्षा प्रविधि समावेश गरिएको छ ।

नेपालका लागि किन महत्वपूर्ण ?

नेपालमा निसानसँग अहिले मुख्य रूपमा म्याग्नाइट उपलब्ध छ । टेकटनको आगमनसँगै कम्पनीले मध्यम आकारको एसयूभी सेग्मेन्टमा पुनः बलियो उपस्थिति जनाउने अपेक्षा गरिएको छ ।

विशेषगरी पछिल्ला वर्षहरूमा नेपाली बजारमा पेट्रोल एसयूभीको माग पुनः बढ्न थालेको छ । यस्तो अवस्थामा आधुनिक डिजाइन, पाँचतारे सुरक्षा, प्रिमियम फिचर र प्रतिस्पर्धी इन्जिन विकल्पसहित आउने टेकटनले हुन्डाई क्रेटा, किया सेल्टोस, स्कोडा कुशाक, फक्सवागन टाइगुन लगायतका मोडलसँग सीधा प्रतिस्पर्धा गर्ने देखिन्छ ।

यद्यपि नेपाली बजारका लागि मूल्य, भेरियन्ट तथा स्पेसिफिकेसनबारे आधिकारिक जानकारी सार्वजनिक भइसकेको छैन । तर पायोनियर मोटोकर्पले सार्वजनिक गरेको टिजरलाई आधार मान्दा NAIMA Mobility Expo 2026 मा टेकटनको नेपाली डेब्यु हुने सम्भावना उच्च देखिएको छ । यदि त्यसो भयो भने यो एक्स्पोको सबैभन्दा चर्चित नयाँ लन्चमध्ये एक बन्ने अपेक्षा गरिएको छ ।

footer