Newad1
Featured blog image

नाइमा एक्स्पोमा अवलोकनकर्ताको ओइरो, दुई दिनमा ५५ हजारले गरे भ्रमण

काठमाडौं । नयाँ गाडी चढेर हेर्ने, विभिन्न मोडलको तुलना गर्ने र आफ्नो बजेटअनुसार उपयुक्त सवारी रोज्नेहरूको चहलपहलले भृकुटीमण्डप यतिबेला भरिभराउ बनेको छ । एउटै परिसरमा उपलब्ध थुप्रै विकल्पसँगै आकर्षक छुट र वित्तीय सुविधाले सवारी किन्न चाहनेहरूलाई थप उत्साहित बनाएको छ ।

मंगलबारदेखि सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा पहिलो दुई दिनमै ५५ हजारभन्दा बढी अवलोकनकर्ता पुगेका छन् । पहिलो दिन २९ हजारभन्दा बढीले अवलोकन गरेको मेलामा दोस्रो दिन थप २६ हजारभन्दा बढी सहभागी भएका हुन् ।

नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसनले आयोजना गरेको एक्स्पोमा दर्शकको उपस्थिति मात्रै होइन, सवारी बुकिङ पनि उत्साहजनक देखिएको आयोजक तथा सहभागी कम्पनीहरूले जनाएका छन् । विभिन्न मूल्य समूहका कार, मोटरसाइकल र स्कुटरमा ग्राहकको समान चासो देखिएको छ ।

मेलास्थलमा पुगेका अधिकांश अवलोकनकर्ता विभिन्न ब्रान्डका सवारी चढेर भित्री बनोट, आराम र सुविधाको तुलना गरिरहेका छन् । विशेषगरी विद्युतीय गाडीको ब्याट्री क्षमता, मोटरको शक्ति, एकपटकको चार्जमा चल्ने दूरी, चार्जिङ सुविधा तथा बिक्रीपछिको सेवाबारे धेरैले जानकारी लिइरहेका छन् ।

ग्राहक आकर्षित गर्न कम्पनीहरूले नगद छुट, एक वर्षको बिमा तथा सवारी कर, निःशुल्क मर्मत सेवा र सहुलियतपूर्ण कर्जालगायत योजना ल्याएका छन् । बैंक तथा वित्तीय संस्थाले पनि एक्स्पोस्थलबाटै सवारी कर्जासम्बन्धी परामर्श र विशेष ब्याजदरका योजना उपलब्ध गराएका छन् ।

एक्स्पोको पहिलो दिन विभिन्न ब्रान्डका ४८ नयाँ मोडल सार्वजनिक भएका थिए । दोस्रो दिन थप चार नयाँ मोडल सार्वजनिक भएसँगै नयाँ सवारी हेर्न चाहने अवलोकनकर्ताको आकर्षण अझ बढेको छ ।

सवारी प्रदर्शनीसँगै आयोजित ‘मोबिलिटी : हिजो, आज र भोलि’ विषयक संवादमा सार्वजनिक यातायात, सडक पूर्वाधार, ट्राफिक व्यवस्थापन र भविष्यको यातायात प्रणालीबारे छलफल भएको छ । उक्त संवादमा नीति निर्माण, यातायात व्यवसाय, ट्राफिक व्यवस्थापन र पूर्वाधार क्षेत्रका प्रतिनिधिसहित तीन सयभन्दा बढी सहभागी थिए ।

दिगो, हरित र प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पो साउन ३१ गतेसम्म सञ्चालन हुनेछ । आयोजकले छ दिनको अवधिमा करिब डेढ लाख अवलोकनकर्ता पुग्ने अपेक्षा गरेको छ ।

नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्ड, नयाँ विद्युतीय कार, विद्युतीय स्कुटर तथा व्यावसायिक सवारी एक्स्पोका मुख्य आकर्षण बनेका छन् । बढ्दो अवलोकन र बुकिङले नेपाली बजारमा नयाँ प्रविधिका सवारीप्रतिको रुचि अझ बलियो बन्दै गएको संकेत गरेको छ ।

footer