Newad1
Featured blog image

नयाँ गाडी हेर्न नाइमा एक्स्पोमा भीड, पहिलो दिनमै २९ हजार दर्शक

काठमाडौँ । नयाँ सवारी, नयाँ प्रविधि र खरिदका विशेष योजनाको प्रतीक्षामा रहेका अवलोकनकर्ताको उत्साहजनक उपस्थितिसँगै राजधानीमा सवारी क्षेत्रको ठूलो प्रदर्शनी सुरु भएको छ । उद्घाटनकै दिन देखिएको भीडले नेपाली बजारमा नयाँ सवारीप्रतिको आकर्षण अझै बलियो रहेको संकेत गरेको छ ।

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को पहिलो दिन २९ हजारभन्दा बढीले अवलोकन गरेका छन् । मंगलबार सुरु भएको एक्स्पोमा विभिन्न कम्पनीले एकै दिन ४८ वटा नयाँ मोडल सार्वजनिक गरेका छन् ।

नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसनले आयोजना गरेको एक्स्पो साउन ३१ गतेसम्म सञ्चालन हुनेछ । आयोजकले छ दिनको अवधिमा करिब डेढ लाख अवलोकनकर्ता सहभागी हुने अपेक्षा गरेको छ ।

एक्स्पोमा नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्डदेखि नयाँ विद्युतीय कार, ई–स्कुटर, पेट्रोल तथा हाइब्रिड सवारी र विद्युतीय व्यावसायिक गाडीसम्म प्रदर्शनमा राखिएका छन् । बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीले पनि सवारी खरिदका लागि विशेष कर्जा तथा बिमा योजना ल्याएका छन् ।

सवारी प्रदर्शनसँगै नीतिगत बहस

उद्घाटन कार्यक्रममा नाइमाकी अध्यक्ष रितु सिंह वैद्यले एक्स्पो सवारी किनबेच गर्ने थलोमा मात्र सीमित नरहेको बताइन् । उनका अनुसार सवारी उत्पादक, आयातकर्ता, बैंक, बिमा कम्पनी, प्रविधि प्रदायक र उपभोक्तालाई एउटै मञ्चमा जोड्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको हो ।

उनले पटकपटक परिवर्तन भइरहने नीतिले व्यवसायीमा अन्योल बढाउनुका साथै नयाँ लगानी आकर्षित गर्न कठिन बनाएको धारणा राखिन् । निजी क्षेत्र र सम्बन्धित सरोकारवालासँग छलफल गरेर मात्र दीर्घकालीन असर पार्ने नीति परिवर्तन गर्नुपर्ने उनको सुझाव थियो ।

उद्घाटन समारोहमा प्रहरी महानिरीक्षकले सवारी बिक्रीसँगै सडक सुरक्षा र बिक्रीपछिको सेवामा पनि व्यवसायी जिम्मेवार बन्नुपर्ने बताए । सवारी कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत सडक सुरक्षा सचेतनामा योगदान गर्नुपर्नेमा उनले जोड दिए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रलाई सरकारले राजस्व उठाउने माध्यमका रूपमा मात्र हेर्न नहुने बताए । नागरिकको आवागमन र आर्थिक गतिविधिसँग प्रत्यक्ष जोडिएको यस क्षेत्रलाई विलासिताभन्दा आवश्यकताको क्षेत्रका रूपमा स्वीकार गर्नुपर्ने उनको भनाइ थियो ।

उनले विशेषगरी विद्युतीय सवारीसम्बन्धी कर तथा नीतिमा स्थिरता आवश्यक रहेको बताए । निजी क्षेत्र लगानी गर्न तयार भए पनि त्यसका लागि सरकारले विश्वासयोग्य र पूर्वानुमान गर्न सकिने वातावरण तयार गर्नुपर्ने उनले उल्लेख गरे ।

नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले यातायात क्षेत्रमा हुने लगानीले अर्थतन्त्रको दिगो विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताए । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले मोबिलिटी क्षेत्र बैंकिङ, बिमा, पर्यटन, निर्माण र सूचना प्रविधिसँग प्रत्यक्ष जोडिएकाले यसलाई आर्थिक विकासको महत्त्वपूर्ण आधारका रूपमा लिनुपर्ने धारणा राखे ।

ज्ञान र अनुभव आदानप्रदानको मञ्च

एक्स्पोमा नयाँ सवारीको प्रदर्शनीसँगै अर्थतन्त्र, लगानी, सडक सुरक्षा र यातायात क्षेत्रको भविष्यसँग सम्बन्धित छलफल पनि सञ्चालन भइरहेको छ । पहिलो दिन आयोजित छलफलमा बैंकिङ, आर्थिक अनुसन्धान, लगानी तथा अटोमोबाइल क्षेत्रका प्रतिनिधि सहभागी भएका थिए ।

एक्स्पो अवधिभर स्वदेशी तथा विदेशी विज्ञको सहभागितामा सिकाइ सत्र, नीतिगत संवाद र उद्योगसँग सम्बन्धित अन्तरक्रिया सञ्चालन गरिने आयोजकले जनाएको छ ।

नेपालमा विद्युतीय सवारीको प्रयोग तीव्र रूपमा बढिरहेका बेला आयोजित एक्स्पोमा नयाँ प्रविधि, चार्जिङ पूर्वाधार, कर्जा सुविधा र बिक्रीपछिको सेवाप्रति अवलोकनकर्ताको विशेष चासो देखिएको छ । पहिलो दिनको सहभागिताले एक्स्पो नयाँ गाडी सार्वजनिक गर्ने थलो मात्र नभई नेपाली सवारी बजारको बदलिँदो दिशा नियाल्ने साझा मञ्चका रूपमा विकास हुँदै गएको देखाएको छ ।

footer