Newad1
Featured blog image

५३ नयाँ मोडलले तान्यो ध्यान, नाइमा एक्स्पोमा डेढ लाखभन्दा बढी सहभागी

काठमाडौं । नयाँ गाडी हेर्ने, उपलब्ध विकल्प तुलना गर्ने र एक्स्पो अवधिका विशेष सुविधामा सवारी बुक गर्नेहरूको चापले शनिबार भृकुटीमण्डपको माहोल बिहानैदेखि फरक बन्यो । पटक–पटकको वर्षाका बीच पनि अवलोकनकर्ताको उपस्थिति यति बाक्लियो कि पार्किङदेखि प्रदर्शनी कक्षसम्म व्यवस्थापन गर्न आयोजकलाई हम्मेहम्मे पर्‍यो ।

भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पोले निर्धारित अवधि पूरा हुनुअघि नै अवलोकनकर्ताको लक्ष्य पार गरेको छ । शनिबार एकैदिन ४२ हजार जना पुगेपछि पाँच दिनको कुल सहभागिता डेढ लाख नाघेको हो ।

नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसनले छ दिनमा करिब डेढ लाख अवलोकनकर्ता भित्र्याउने अपेक्षा गरेको थियो । एक्स्पो आइतबारसम्म चल्ने भए पनि उक्त लक्ष्य शनिबार नै पूरा भएको आयोजकले जनाएको छ ।

एक्स्पोको पहिलो दिन २९ हजार, दोस्रो दिन २६ हजार, तेस्रो दिन २२ हजार र चौथो दिन ३१ हजारभन्दा बढीले अवलोकन गरेका थिए । बिदाको दिन थपिएको चापका कारण शनिबार भृकुटीमण्डपभित्रका खुला क्षेत्र, नेपाल पुलिस क्लब तथा खाद्य गोदाम मैदानमा गरिएको पार्किङ व्यवस्थासमेत अपुग देखिएको थियो ।

अटो सो प्लानिङ कमिटीका अध्यक्ष गौरव शारडाले अपेक्षाभन्दा ठूलो सहभागिताले एक्स्पो सफल भएको पुष्टि गरेको बताए । उनले नयाँ सवारी, प्रविधि तथा विशेष सुविधाबारे बुझ्न चाहनेलाई अन्तिम दिन एक्स्पो अवलोकन गर्न आग्रह गरेका छन् ।

मेलामा ५५ भन्दा बढी ब्रान्डका सवारीसाधन राखिएका छन् । पाँचौँ दिनसम्म विभिन्न कम्पनीले ५३ नयाँ मोडल सार्वजनिक गरिसकेका छन् । शनिबार लक्ष्मी मोटरहबले विद्युतीय क्रसओभर आर्कफक्स टी१ सार्वजनिक गरेको थियो ।

विद्युतीय कार, ई–स्कुटर र विद्युतीय व्यावसायिक सवारीमा अवलोकनकर्ताको विशेष आकर्षण देखिएको छ । ग्राहकले ब्याट्री क्षमता, मोटर पावर, रेन्ज, आफ्टर सेल्स सर्भिस, ब्याट्री वारेन्टी र रिसेल भ्यालुबारे बढी चासो राखेका छन् ।

कम्पनीहरूले एक्स्पो अवधिमा मूल्य छुट, एक वर्षको बिमा तथा सवारी कर, फ्रि सर्भिसिङ र सहुलियत कर्जालगायत सुविधा दिइरहेका छन् । धेरै मोडललाई एउटै स्थानमा तुलना गर्न सकिने भएकाले गाडी किन्न खोजिरहेका नेपाली ग्राहकका लागि एक्स्पो उपयोगी अवसर बनेको छ ।

दिगो, हरित र प्रविधिमैत्री यातायात प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको नाइमा नेपाल मोबिलिटी एक्स्पोको दोस्रो संस्करण आइतबार समापन हुँदैछ ।

footer