ईभी बढे, तर पुराना ब्याट्री कहाँ जाने ?
काठमाडौँ । नेपालका सडकमा विद्युतीय सवारीको संख्या बढिरहँदा केही वर्षपछि अर्को गम्भीर चुनौती देखिन सक्ने संकेत मिलेको छ । समयमै तयारी नगरे प्रयोग सकिएका ब्याट्रीको संकलन, पुनःप्रयोग र सुरक्षित व्यवस्थापन सरकार तथा व्यवसायी दुवैका लागि जटिल बन्न सक्ने सरोकारवालाले बताएका छन् ।
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का अवसरमा आयोजित नाइमा मोबिलिटी संवादमा सहभागी विज्ञले विद्युतीय सवारीमा प्रयोग हुने प्रत्येक ब्याट्री दर्ता गरी त्यसको अवस्थासमेत ट्र्याक गर्न सकिने प्रणाली बनाउनुपर्ने आवश्यकता औँल्याए ।
भेइकल फिटनेस टेस्ट सेन्टरका प्रमुख सुरेश श्रेष्ठका अनुसार अहिले विद्युतीय सवारी दर्ता गर्दा चेसिस र मोटर नम्बर राखिए पनि ब्याट्रीको विवरण अभिलेख गर्ने व्यवस्था छैन । ब्याट्रीको छुट्टै पहिचान नम्बर दर्ता गरिए आयातदेखि प्रयोग, संकलन र रिसाइक्लिङसम्मको अवस्था पत्ता लगाउन सहज हुने उनको भनाइ छ ।
यसले प्रयोग सकिएका वा दुर्घटनामा क्षतिग्रस्त ब्याट्री जथाभावी फालिने, कबाडमा पुग्ने वा अनौपचारिक बाटोबाट बाहिरिने जोखिम घटाउनेछ । नेपालमै पर्याप्त रिसाइक्लिङ पूर्वाधार नभएको अवस्थामा पुराना ब्याट्री वा त्यसबाट निकालिएको सामग्रीलाई भारत वा चीनका सूचीकृत उद्योगमा पठाउने कानुनी बाटो खुला गर्नुपर्ने सुझावसमेत दिइएको छ ।
नाइमाका संस्थापक आकाश गोल्छाले ब्याट्री व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी सवारी आयातकर्तालाई मात्र दिनु व्यावहारिक नहुने बताए । सरकार, आयातकर्ता, उपभोक्ता र अनुमतिप्राप्त रिसाइकल कम्पनीको जिम्मेवारी स्पष्ट हुने गरी साझा प्रणाली बनाउनुपर्नेमा उनले जोड दिए ।
भारतीय विज्ञ प्राध्यापक डाक्टर बलराज भनोटले लिथियम ब्याट्रीको सामान्य आयु आठदेखि १० वर्षसम्म हुने भएकाले नेपालमा ठूलो संख्यामा ब्याट्री फेर्नुपर्ने अवस्था आउन अझै चार–पाँच वर्ष लाग्न सक्ने बताए । यही समयलाई उपयोग गर्दै सरकारले विस्तारित उत्पादक उत्तरदायित्वसम्बन्धी नीति, पुरानो ब्याट्री फिर्ता गर्ने व्यवस्था र सूचीकृत संकलन प्रणाली तयार गर्नुपर्ने उनको सुझाव छ ।
संवादमा पुरानो ब्याट्री फिर्ता गर्ने उपभोक्तालाई उचित मूल्य वा प्रोत्साहन दिए संकलन प्रभावकारी हुने धारणा पनि आएको थियो । विज्ञका अनुसार विद्युतीय सवारीको ब्याट्री फोहोर मात्र होइन । यसमा रहेका तामा, आल्मुनियम, लिथियम, निकल र कोबाल्टजस्ता सामग्री पुनःप्रयोग गरी आर्थिक मूल्य सिर्जना गर्न सकिन्छ ।
कार्यक्रममा इन्धनमा इथानोल मिश्रणको सम्भावनाबारे पनि छलफल भएको थियो । भारतीय अनुभव प्रस्तुत गर्दै विज्ञले नेपालले सुरुमै उच्च अनुपातमा इथानोल मिसाउनुभन्दा सवारीको अनुकूलता, भण्डारण ट्याङ्की र इन्धन वितरण पूर्वाधार तयार गरेर मात्र क्रमिक रूपमा अघि बढ्नुपर्ने बताए ।
संवादको सहजीकरण लक्ष्मी ग्रुपका महाप्रबन्धक दीपक थपलियाले गरेका थिए ।