Newad1
Featured blog image

कम्प्याक्ट एसयूभी बजार फेरि तात्ने संकेत, नयाँ हुन्डाई भेन्यु आउँदै

काठमाडौं । नेपालमा भेन्यु नयाँ नाम होइन । कम्प्याक्ट एसयूभी सेग्मेन्टमा यसले वर्षौंदेखि आफ्नो छुट्टै पहिचान बनाइसकेको छ । तर त्यसयताको बजार भने धेरै बदलिएको छ । नयाँ ब्रान्ड थपिएका छन्, प्रविधिमा तीव्र परिवर्तन आएको छ र ग्राहकको रोजाइ पनि पहिलेभन्दा फराकिलो बनेको छ । यही परिवेशमा हुन्डाईले अब भेन्युको नयाँ फेसलिफ्ट संस्करण नेपाली बजारमा ल्याउने तयारी गरेको छ ।

यसपटक चासोको विषय केवल नयाँ डिजाइन मात्र होइन । पछिल्ला केही वर्षयता कम्प्याक्ट एसयूभी सेग्मेन्टमा प्रतिस्पर्धा उल्लेखनीय रूपमा बढेको छ । पेट्रोल र विद्युतीय दुवै विकल्प विस्तार भइरहेका बेला नयाँ भेन्युले यो बदलिएको बजारमा आफूलाई कसरी प्रस्तुत गर्छ भन्ने पक्षलाई धेरैले नजिकबाट हेर्नेछन् ।

यही सन्दर्भमा भारतमा सार्वजनिक भइसकेको नयाँ भेन्युलाई नाइमा मोबिलिटी एक्स्पो २०२६ मार्फत नेपालमा पहिलो पटक प्रदर्शनी गरिने भएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टल ले एक्स्पोमा यो मोडल सार्वजनिक गर्ने तयारी गरेको हो ।


डिजाइनतर्फ हेर्दा नयाँ भेन्युमा अगाडिको भागमा नयाँ ग्रिल, जोडिएको एलईडी डे–टाइम रनिङ लाइट, नयाँ हेडल्याम्प र पुनः डिजाइन गरिएको बम्पर प्रयोग गरिएको छ । पछाडिको भागमा पनि जोडिएको टेलल्याम्प र नयाँ टेलगेट डिजाइनमार्फत यसलाई अघिल्लो संस्करणभन्दा फरक पहिचान दिने प्रयास गरिएको देखिन्छ ।

भित्री भागमा पनि परिवर्तन गरिएको छ । ठूलो टचस्क्रिन, पूर्ण डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, वायरलेस स्मार्टफोन कनेक्टिभिटी, नयाँ ड्यासबोर्ड लेआउट, भेन्टिलेटेड सिट, तीन सय साठी डिग्री क्यामेरा लगायतका सुविधाले केबिनलाई थप आधुनिक बनाउने प्रयास गरिएको कम्पनीको दाबी छ ।

सुरक्षाका हिसाबले पनि नयाँ भेन्युमा विभिन्न चालक–सहयोगी प्रविधि समावेश गरिएको छ । एडास अन्तर्गत फर्वार्ड कोलिजन अवोइडेन्स असिस्ट, लेन किपिङ असिस्ट, ब्लाइन्ड स्पट वार्निङ र स्मार्ट क्रुज कन्ट्रोल जस्ता सुविधा उपलब्ध गराइएको छ ।


यद्यपि, नेपाली बजारका लागि कुन भेरियन्ट उपलब्ध हुने, मूल्य कति निर्धारण हुने र भारतमा उपलब्ध सबै सुविधा नेपाल आउने वा नआउने विषयमा कम्पनीले अझै आधिकारिक जानकारी सार्वजनिक गरेको छैन । हाल हुन्डाई नेपालको वेबसाइटमा भने बिक्रीमा रहेको मोडल अघिल्लो भेन्यु फेसलिफ्ट नै देखिन्छ ।

बजार विश्लेषकहरूका अनुसार अहिलेको कम्प्याक्ट एसयूभी सेग्मेन्ट केही वर्षअघिको जस्तो छैन । एउटै मूल्य समूहमा पेट्रोल, हाइब्रिड र विद्युतीय विकल्पबीच प्रत्यक्ष प्रतिस्पर्धा भइरहेको छ । त्यसैले नयाँ भेन्युको मूल्य निर्धारण, भेरियन्टको छनोट र उपलब्ध गराइने सुविधाले यसको बजार प्रतिस्पर्धात्मक क्षमता निर्धारण गर्ने अपेक्षा गरिएको छ ।

नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक भएपछि कम्पनीले यसको नेपाली स्पेसिफिकेसन र मूल्यबारे थप जानकारी दिने अपेक्षा गरिएको छ । त्यसपछि मात्रै नयाँ भेन्युले नेपाली बजारमा कस्तो स्थान बनाउनेछ भन्ने चित्र स्पष्ट हुने देखिन्छ ।


footer