ब्याट्रीको बलियो धक्का, चीनमा पेट्रोल गाडीको बजार हिस्सा ऐतिहासिक रूपमा घट्यो

काठमाडौं । चीनमा विद्युतीय सवारीसाधन (ईभी) को लोकप्रियता लगातार बढ्दै गएको छ । मे २०२६ मा चीनको खुद्रा अटो बजारमा ईभीको बजार हिस्सेदारी ६२.९ प्रतिशत पुगेको छ, जुन अहिलेसम्मकै उच्च स्तर मानिएको छ ।
चाइना प्यासेन्जर कार एसोसिएसन (CPCA) का अनुसार मे महिनामा चीनमा कुल १५ लाख १० हजार सवारीसाधन बिक्री भएका छन् । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २२.१ प्रतिशतले घटेको भए पनि अघिल्लो महिनाको तुलनामा ९.२ प्रतिशतले वृद्धि भएको हो । जनवरीदेखि मेसम्म कुल ७० लाख ९९ हजार गाडी बिक्री भएका छन्, जुन वार्षिक आधारमा १९.५ प्रतिशतले कम हो ।
बजारमा समग्र बिक्री घटे पनि पेट्रोल तथा डिजेलबाट चल्ने आन्तरिक दहन इन्जिन (ICE) सवारीको बिक्री तीव्र रूपमा घटेकाले ईभीको बजार हिस्सा उल्लेखनीय रूपमा बढेको हो । मे महिनामा ICE सवारीको बजार हिस्सा ३७.१ प्रतिशतमा सीमित रह्यो भने करिब ५ लाख ६० हजार युनिट मात्रै बिक्री भए । कुल वार्षिक गिरावटमध्ये ८२ प्रतिशत हिस्सा ICE सवारीकै बिक्री घट्नुले आएको बताइएको छ ।
विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय तेल मूल्यमा आएको उतारचढावले पनि उपभोक्तालाई विद्युतीय सवारीतर्फ आकर्षित गरेको छ । यसका कारण चीनमा सबैभन्दा बढी बिक्री हुने शीर्ष १० मोडलमध्ये अधिकांश नयाँ ऊर्जा सवारी (New Energy Vehicles) परेका छन् । यसमा ब्याट्री इलेक्ट्रिक (BEV), प्लग–इन हाइब्रिड (PHEV) र रेन्ज एक्सटेन्डर (EREV) सवारी समावेश छन् ।
उच्च मूल्यका प्रिमियम ईभीहरूको माग पनि बलियो देखिएको छ । Volkswagen ID. Era 9X को ५,००४ युनिट, Nio ES8 को ११,४७२ युनिट तथा Zeekr 9X क्रसओभरको ९,०५८ युनिट ग्राहकलाई हस्तान्तरण गरिएको तथ्यांकले देखाएको छ ।
यस्तै, अन्तर्राष्ट्रिय अटो कम्पनी र चिनियाँ उत्पादकबीचका संयुक्त उद्यमहरूका लागि पनि ईभी प्रमुख वृद्धिको आधार बनेका छन् । SAIC–Volkswagen, GAC–Toyota र BMW–Brilliance जस्ता संयुक्त कम्पनीहरूले उत्पादन गरेका विद्युतीय सवारीको बिक्री वार्षिक रूपमा ५१ प्रतिशतले बढेको छ भने पेट्रोल गाडीको बिक्री ४१ प्रतिशतले घटेको CPCA ले जनाएको छ ।
घरेलु बजारमा दबाब बढ्दै गएपछि चिनियाँ अटो निर्माता कम्पनीहरूले निर्यातलाई प्राथमिकता दिन थालेका छन् । मे महिनामा नयाँ ऊर्जा सवारीको कुल निर्यात हिस्सा ५४ प्रतिशत पुगेको छ, जुन नयाँ कीर्तिमान हो ।
यस अवधिमा BYD ले विदेशमा १ लाख ६० हजार ६४४ सवारी बिक्री गर्दै नयाँ रेकर्ड बनाएको छ । यो कम्पनीको कुल ३ लाख ८२ हजार ४७६ बिक्रीमध्ये ४२ प्रतिशत हिस्सा हो । त्यस्तै Chery ले १ लाख ८१ हजार ८७१ सवारी विदेशमा बिक्री गरेको छ, जुन कम्पनीको कुल बिक्रीको ७३.३९ प्रतिशत बराबर हो ।
विश्वकै सबैभन्दा ठूलो अटो बजार चीनमा विद्युतीय सवारीको तीव्र विस्तारले विश्व अटो उद्योगको भविष्य ईभीतर्फ तीव्र गतिमा अघि बढिरहेको संकेत दिएको छ । नेपालजस्ता बजारमा पनि पछिल्ला वर्षहरूमा ईभीप्रति बढ्दो आकर्षण देखिएकाले चीनको यो प्रवृत्तिले नेपाली बजारमा नयाँ मोडल र प्रतिस्पर्धी मूल्यमा विद्युतीय सवारी भित्रिने सम्भावना अझ बलियो बनाएको छ ।