अटोमोटिभ कम्पोनेन्ट्स क्षेत्रमा योगदानका लागि प्रदीप मान प्रधान सम्मानित

काठमाडौँ । हिट्को प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप मान प्रधानलाई ‘अटोमोटिभ कम्पोनेन्ट्स अवार्ड २०२६’ बाट सम्मानित गरिएको छ । कर्पोरेट बिजनेस म्यागजिनद्वारा आयोजित ‘१८औँ ईश्वरलाल कर्पोरेट बिजनेस अवार्ड २०२६’ समारोहमा उहाँलाई उक्त प्रतिष्ठित सम्मान प्रदान गरिएको हो ।

अटोमोटिभ कम्पोनेन्ट्स तथा औद्योगिक समाधान क्षेत्रमा पुर्‍याएको उल्लेखनीय योगदान, उत्कृष्ट नेतृत्व क्षमता र व्यावसायिक सफलतालाई कदर गर्दै प्रधानलाई ‘सर्टिफिकेट अफ एक्सिलेन्स’ सहित सम्मान गरिएको आयोजकले जनाएको छ ।


सम्मान समारोह नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकाल, जुरी कमिटीकी प्रमुख भवानी राणा तथा कर्पोरेट बिजनेस म्यागजिनका अध्यक्ष उज्वल जंग पराक्रम शाहलगायत विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

प्रदीप मान प्रधान नेतृत्वको हिट्को प्राइभेट लिमिटेड नेपालमा औद्योगिक उपकरण, अग्निसुरक्षा तथा सुरक्षा प्रणालीसम्बन्धी समाधान प्रदान गर्ने अग्रणी कम्पनीमध्ये एक हो । सन् १९७५ मा स्थापना भएको कम्पनीले करिब पाँच दशकदेखि उद्योग, अटोमोबाइल, निर्माण तथा व्यापारिक क्षेत्रका लागि आवश्यक गुणस्तरीय उपकरण र प्रविधिमैत्री समाधान उपलब्ध गराउँदै आएको छ । 


लामो अनुभव, विश्वसनीय सेवा र आधुनिक प्रविधिको प्रयोगमार्फत हिट्कोले नेपाली बजारमा आफ्नो छुट्टै पहिचान स्थापित गरेको छ । कम्पनीले औद्योगिक सुरक्षा तथा पूर्वाधार विकाससँग सम्बन्धित विभिन्न क्षेत्रमा योगदान पुर्‍याउँदै आएको छ ।

यस सम्मानलाई प्रदीप मान प्रधानको व्यक्तिगत उपलब्धिमात्र नभई हिट्को प्राइभेट लिमिटेडले वर्षौंदेखि औद्योगिक तथा अटोमोटिभ कम्पोनेन्ट्स क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको औपचारिक सम्मानका रूपमा समेत हेरिएको छ ।