Newad1
Featured blog image

अपडेटेड रेनो क्विडको भारतमा प्रवेश, मूल्य ४.५३ लाख भारुदेखि

भारतमा रेनोले आफ्नो लोकप्रिय बजेट ह्याचब्याक क्विड लाई नयाँ सुरक्षा सुधारसहित सार्वजनिक गरेको छ । यसपटक बाहिरी स्वरूपमा धेरै परिवर्तन नगरे पनि कम्पनीले सुरक्षालाई प्राथमिकता दिँदै टप भेरियन्टमा ६ वटा एयरब्याग उपलब्ध गराएको छ । नयाँ क्विडको सुरुवाती एक्स-शोरुम मूल्य ४ लाख ५३ हजार भारतीय रुपैयाँ निर्धारण गरिएको छ ।

गत वर्ष मात्रै १०औँ वार्षिकोत्सव संस्करण ल्याएको रेनोले एक वर्ष नपुग्दै क्विडलाई पुनः अपडेट गरेको हो । यसपटक डिजाइनभन्दा पनि ग्राहकको सुरक्षा र भेरियन्ट संरचनामा कम्पनीले ध्यान दिएको देखिन्छ ।

बाहिरी डिजाइन हेर्दा नयाँ क्विड अघिल्लो मोडलसँग निकै मिल्दोजुल्दो छ । अगाडिको भाग लगभग जस्ताको त्यस्तै राखिएको छ भने पछाडिको टेललाइट को आवरणमा सामान्य परिवर्तन गरिएको छ । साथै नयाँ रेनो लोगो र नयाँ डिजाइनका ह्विलले मात्रै यसको नयाँ संस्करण छुट्याउन मद्दत गर्छन् ।

क्याबिनभित्र पनि कुनै ठूलो परिवर्तन गरिएको छैन । ड्यासबोर्ड , इन्फोटेन्मेन्ट सिस्टम र प्रयोग गरिएका सामग्री अघिल्लै मोडलसरह छन् । तर सबैभन्दा महत्वपूर्ण परिवर्तन भनेको सुरक्षामा गरिएको सुधार हो । यसअघि उपलब्ध नभएको ६ वटा एयरब्याग अब टप-स्पेक भेरियन्टमा समावेश गरिएको छ ।

रेनोले अब क्विडलाई केवल दुई भेरियन्टमा मात्रै बिक्री गर्ने भएको छ । ती हुन् इभोलुसन र क्लाइम्बर ।

इभोलुसन भेरियन्टको म्यानुअल ट्रान्समिसन को मूल्य ४.५३ लाख भारतीय रुपैयाँ राखिएको छ भने एएमटी संस्करणको मूल्य ४.८९ लाख भारतीय रुपैयाँ तोकिएको छ ।

त्यसैगरी क्लाइम्बर भेरियन्टको म्यानुअल संस्करणको मूल्य ५.१५ लाख भारतीय रुपैयाँ र एएमटी संस्करणको मूल्य ५.६१ लाख भारतीय रुपैयाँ निर्धारण गरिएको छ । कम्पनीले अनलाइन बुकिङ गर्ने ग्राहकका लागि विशेष मूल्य पनि घोषणा गरेको छ । यसअन्तर्गत क्लाइम्बर म्यानुअल ४.९९ लाख भारतीय रुपैयाँ र एएमटी ५.४६ लाख भारतीय रुपैयाँमा उपलब्ध हुनेछ ।

कम्पनीले इच्छुक ग्राहकका लागि आधिकारिक सीएनजी रेट्रोफिटमेन्ट को सुविधा पनि उपलब्ध गराएको छ । यसको अतिरिक्त लागत ७० हजार ४४९ भारतीय रुपैयाँ पर्नेछ ।

इन्जिनतर्फ भने कुनै परिवर्तन गरिएको छैन । नयाँ क्विडमा पहिलेकै १.० लिटर, तीन सिलिन्डर नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन प्रयोग गरिएको छ । यसले अधिकतम ६७ बीएचपी (bhp) शक्ति र ९१ एनएम (Nm) टर्क उत्पादन गर्छ । यो इन्जिन म्यानुअल तथा एएमटी दुवै गियरबक्ससँग उपलब्ध छ ।

फिचर सूचीमा ८ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट प्रणाली, एन्ड्रोइड अटो, एप्पल कारप्ले, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, रुफ रेल, एलईडी टेललाइट, १४ इन्चका टायर, १८४ एमएम ग्राउन्ड क्लियरेन्स, २७९ लिटर बुट स्पेस, रिमोट किलेस इन्ट्री, रियर भ्यु क्यामेरा, पछाडिका पावर विन्डो तथा इलेक्ट्रिकली एड्जस्टेबल ओआरभीएम जस्ता सुविधा समावेश छन् ।

भारतीय बजारमा नयाँ रेनो क्विडले मारुति सुजुकी अल्टो के१०, सेलेरियो र एस-प्रेसो जस्ता लोकप्रिय बजेट ह्याचब्याकसँग प्रतिस्पर्धा गर्नेछ । सुरक्षा सुधारलाई केन्द्रमा राखेर गरिएको यो अपडेटले कम मूल्यमा सुरक्षित कार खोजिरहेका ग्राहकको ध्यान तान्ने अपेक्षा गरिएको छ ।

footer