१,००० करोडको नयाँ साथ, एथरले अगाडि सार्दैछ नयाँ पुस्ताका ई–स्कुटर
काठमाडौँ । भारतको विद्युतीय दुईपाङ्ग्रे बजारमा प्रतिस्पर्धा तीव्र बन्दै गएको बेला हिरो मोटोकोर्पले एथर इनर्जीमा थप १,००० करोड भारतीय रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ । आवश्यक नियामकीय स्वीकृतिपछि आगामी करिब १५ दिनभित्र यो लगानी प्रक्रिया पूरा हुने अपेक्षा गरिएको छ ।
हाल हिरो मोटोकोर्पको एथर इनर्जीमा २९.४८ प्रतिशत स्वामित्व रहेको छ । कम्पनीले यसअघि पनि एथरमा लगानी गर्दै आएको थियो भने हिरोको विदा विद्युतीय स्कुटरले एथरको एथर ग्रिड फास्ट चार्जिङ नेटवर्क प्रयोग गर्दै आएका छन् ।
यसैबीच, एथरले आगामी अगस्ट २९ मा बेंगलुरुमा आयोजना हुने वार्षिक कम्युनिटी डे कार्यक्रममा नयाँ ईएल०१ विद्युतीय स्कुटर सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीको नयाँ ईएल प्लेटफर्म मा आधारित यो पहिलो किफायती स्कुटर हुनेछ ।
कम्पनीका अनुसार ईएल०१ हाल बिक्रीमा रहेका रिज्टा र ४५० सिरिजभन्दा सस्तो हुनेछ, तर यसको मूल्य १ लाख भारतीय रुपैयाँभन्दा कम नहुने बताइएको छ ।
डिजाइन पेटेन्टका आधारमा ईएल०१ मा १४ इन्च अगाडिको र १२ इन्च पछाडिको एलोय ह्विल, एलईडी डीआरएल, एलईडी टेलल्याम्प, एड्भान्स्ड इलेक्ट्रोनिक ब्रेकिङ सिस्टम (एईबीएस), अनबोर्ड चार्जर, एथरस्ट्याक ७.० सफ्टवेयर, भ्वाइस कमाण्ड र ७ इन्च टीएफटी डिस्प्ले जस्ता आधुनिक सुविधा रहने अपेक्षा गरिएको छ ।
ब्याट्री विकल्पका रूपमा हालको २.९ किलोवाट–आवर र ३.७ किलोवाट–आवर प्याक प्रयोग हुने सम्भावना छ, जसले क्रमशः १२३ किलोमिटर र १५९ किलोमिटर (आईडीसी) रेन्ज प्रदान गर्न सक्छ ।
एथरले नयाँ ईएल प्लेटफर्म लाई एउटै स्कुटरमा सीमित नराखी भविष्यमा फ्यामिली स्कुटर, म्याक्सी–स्कुटर र हाई–पर्फर्मेन्स स्कुटर समेत विकास गर्ने योजना बनाएको छ । यसले कम्पनीलाई भारतको विद्युतीय दुईपाङ्ग्रे बजारमा अझ बलियो प्रतिस्पर्धी बनाउने अपेक्षा गरिएको छ ।