खुलेको एक दिन नबित्दै कृष्णभीरमा फेरि रोकियो यात्रा
धादिङ । ठूला ढुङ्गा र चट्टानसहित पहिरो खसेपछि पृथ्वी राजमार्गको कृष्णभीर खण्ड फेरि पूर्ण रूपमा अवरुद्ध भएको छ । सडक बन्द हुँदा काठमाडौं–मुग्लिनतर्फ आउजाउ गर्ने सवारीसाधन दुवैतर्फ रोकिएका छन् ।
बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभीरमा बिहीबार राति सडकमाथिबाट माटो, ठूला ढुङ्गा र चट्टान खसेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । बिहीबारदेखि भइरहेको निरन्तर वर्षाका कारण पहिरो गएको प्रारम्भिक जानकारी छ ।
पहिरो गएको क्षेत्रमा वर्षा जारी रहेकाले थप ढुङ्गा र माटो खस्ने जोखिम छ । अवरुद्ध सडक कति समयभित्र खुल्छ भन्ने यकिन जानकारी सार्वजनिक भएको छैन । वैकल्पिक मार्गबारे पनि पछिल्लो आधिकारिक सूचना नआएकाले यात्रामा निस्कनुअघि सडकको अवस्था बुझ्न चालक तथा यात्रुलाई आग्रह गरिएको छ ।
कृष्णभीर र ज्यामिरेमा यसअघि खसेको लेदोसहितको पहिरो पन्छाएपछि बिहीबार बिहान मात्र राजमार्ग दुईतर्फी सञ्चालनमा आएको थियो । राति फेरि पहिरो खसेपछि सोही खण्डमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको हो ।
गत भदौ १० र १४ गते भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीले कृष्णभीरमा करिब १०० मिटर सडक कटान गरेको थियो । त्यसपछि पहाडतर्फ करिब २७० मिटर नयाँ ट्र्याक निर्माण गरी असोज १ गतेदेखि दुईतर्फी यातायात सञ्चालन गरिएको थियो । नयाँ ट्र्याक सञ्चालनमा आएको केही दिनमै पटकपटक पहिरो खस्दा यो खण्ड पुनः जोखिमपूर्ण बनेको छ ।