गाडीको स्क्रिनभित्र हराएका बटन फेरि फर्काउँदै चीन
बेइजिङ । चीनमा नयाँ गाडीका १९ अत्यावश्यक फङ्सन टचस्क्रिनमा मात्र राख्न नपाइने व्यवस्था गर्न लागिएको छ । सवारीका कन्ट्रोल, इन्डिकेटर तथा सिग्नलसम्बन्धी हालको जीबी ४०९४–२०१६ मापदण्ड संशोधन गर्दै सुरक्षासँग सम्बन्धित फङ्सनका लागि भौतिक नियन्त्रण अनिवार्य गर्ने प्रस्ताव अहिले स्वीकृतिको चरणमा पुगेको हो ।
प्रस्तावित व्यवस्थामा टर्न
इन्डिकेटर, हाजार्ड लाइट, हर्न, पी/आर/एन/डी गियर छनोट, विन्डस्क्रिन वाइपर,
डिफ्रोस्ट तथा डिफग, पावर विन्डो, मुख्य लाइट, आपत्कालीन कल र संयुक्त चालक सहायता
प्रणाली सक्रिय गर्नेलगायत १९ फङ्सन समेटिएका छन् । यी काम स्क्रिन वा भ्वाइस
कमान्डबाट पनि गर्न सकिने भए पनि त्यसमा मात्र निर्भर हुने डिजाइन स्वीकार्य नहुने
मस्यौदाको आशय छ ।
भौतिक नियन्त्रण भन्नाले बटनमात्र नभई
लिभर, स्टक, स्विच वा नबसमेत बुझिन्छ । त्यस्ता नियन्त्रण निश्चित स्थानमा राखिने
र चालकले सडकबाट आँखा नहटाई स्पर्शबाट पहिचान तथा सञ्चालन गर्न सक्ने गरी डिजाइन
गरिनुपर्ने प्रस्ताव छ । चीनले टचस्क्रिन नै हटाउन खोजेको भने होइन ।
इन्फोटेनमेन्ट, नेभिगेसन तथा अन्य सहायक सुविधा स्क्रिनबाटै सञ्चालन गर्न सकिनेछन्
।
चीनको उद्योग तथा सूचना प्रविधि
मन्त्रालयले संशोधित अनिवार्य राष्ट्रिय मापदण्डको मस्यौदा १२ फेब्रुअरी २०२६ मा सार्वजनिक गर्दै
सरोकारवालासँग सुझाव मागेको थियो । सुझाव दिने अवधि १६ अप्रिल २०२६ मा सकिएको हो । आधिकारिक अभिलेखमा मापदण्ड अहिले
स्वीकृतिको प्रक्रियामा रहेको र प्रस्तावित कार्यान्वयन मिति १ जुलाई २०२७ राखिएको देखिन्छ । त्यसैले
यसलाई अहिल्यै लागू भइसकेको नियमका रूपमा बुझ्न मिल्दैन ।
पछिल्ला वर्ष चिनियाँसहित धेरै गाडी
निर्माताले अधिकांश फङ्सन ठूलो सेन्ट्रल स्क्रिनभित्र राख्दै आएका छन् । नयाँ
व्यवस्था स्वीकृत भए चीनमा बिक्री हुने नयाँ मोडलको क्याबिन डिजाइन फेरबदल
गर्नुपर्ने हुन सक्छ । चीनमै विकास गरिएका धेरै गाडी नेपाल आउने भएकाले यसको
प्रभाव भविष्यमा नेपाली बजारमा उपलब्ध मोडलका इन्टेरियरमा पनि देखिन सक्नेछ ।