५-स्टार सेफ्टी रेटिङसहित आयो नयाँ ब्रेजा, भारत एनक्यापको परीक्षणमा कति सुरक्षित देखियो?
काठमाडौँ । फेसलिफ्ट संस्करण सार्वजनिक हुने तयारीमा रहेको मारुति सुजुकी ब्रेजाले सुरक्षा परीक्षणमा उल्लेखनीय सफलता हासिल गरेको छ । भारत एनक्यापले सार्वजनिक गरेको पछिल्लो परीक्षण नतिजाअनुसार कम्प्याक्ट एसयूभी ब्रेजाले ५-स्टार सेफ्टी रेटिङ प्राप्त गर्दै आफ्नो सुरक्षा स्तरलाई प्रमाणित गरेको हो ।
परीक्षणमा ब्रेजाले वयस्क यात्रु सुरक्षातर्फ ३२ मध्ये ३०.४१ अंक प्राप्त गरेको छ भने बाल यात्रु सुरक्षातर्फ ४९ मध्ये ४३ अंक हासिल गरेको छ । यी नतिजाले दैनिक प्रयोगका साथै पारिवारिक यात्राका लागि पनि ब्रेजा सुरक्षित विकल्प हुन सक्ने संकेत गरेको विश्लेषण गरिएको छ ।
फ्रन्टल अफसेट डिफर्मेबल ब्यारियर परीक्षणमा चालक तथा अगाडिको यात्रुको टाउको, घाँटी र शरीरको तल्लो भागलाई राम्रो सुरक्षा प्रदान गरेको देखिएको छ । चालकको छाती तथा खुट्टा र अगाडिको यात्रुको खुट्टामा भने पर्याप्त स्तरको सुरक्षा उपलब्ध गराएको भारत एनक्यापको परीक्षणले देखाएको छ ।
यस्तै, साइड मुभेबल डिफर्मेबल ब्यारियर र साइड पोल इम्प्याक्ट परीक्षणमा पनि ब्रेजाले उत्कृष्ट प्रदर्शन गरेको छ । यी दुवै परीक्षणमा सवारीभित्र रहेका यात्रुको समग्र सुरक्षालाई ‘राम्रो’ स्तरको मूल्याङ्कन गरिएको छ ।
बाल यात्रुको सुरक्षाका लागि गरिएको परीक्षणमा चाइल्ड रेस्ट्रेन्ट सिस्टमको प्रयोग गर्दै गतिशील परीक्षण गरिएको थियो । यस क्रममा ब्रेजाले डाइनामिक परीक्षणमा पूर्ण २४ मध्ये २४ अंक र चाइल्ड रेस्ट्रेन्ट सिस्टम जडानतर्फ १२ मध्ये १२ अंक प्राप्त गरेको छ । सवारीको समग्र मूल्याङ्कनतर्फ भने यसले १३ मध्ये ७ अंक हासिल गरेको छ ।
भारतमा पछिल्ला केही वर्षयता सवारी खरिद गर्दा सुरक्षा मूल्याङ्कनलाई प्रमुख आधार मान्ने ग्राहकको संख्या तीव्र रूपमा बढिरहेको छ । विशेषगरी भारत एनक्याप र ग्लोबल एनक्यापका परीक्षण नतिजाले उपभोक्ताको रोजाइमा प्रत्यक्ष प्रभाव पार्ने गरेको देखिन्छ । यस्तो अवस्थामा ब्रेजाले प्राप्त गरेको ५-स्टार रेटिङले यसको बजार प्रतिस्पर्धात्मक क्षमता अझ बलियो बनाउने अपेक्षा गरिएको छ ।
नेपालमा पनि कम्प्याक्ट एसयूभीको माग निरन्तर बढिरहेको छ । यदि यही सुरक्षा मापदण्डसहित फेसलिफ्ट संस्करण नेपाली बजारमा प्रवेश गर्छ भने सुरक्षालाई प्राथमिकता दिने ग्राहकको ध्यान आकर्षित गर्न सक्ने सम्भावना बलियो देखिन्छ ।