एकै रातमा ७७४ सवारी नियन्त्रणमा, भन्सार सम्बन्धी छानबिन हुँदै
काठमाडौं । सशस्त्र प्रहरी बलले भन्सार प्रक्रियामा अनियमितता भएको आशंकामा ७७४ वटा सवारीसाधन नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरीका अनुसार बुधबार रातिदेखि बिहीबार बिहानसम्म गण्डकी प्रदेशका विभिन्न सडक खण्डमा गरिएको निगरानीका क्रममा उक्त संख्यामा सवारी नियन्त्रणमा लिइएको हो । मुस्ताङ, जोमसोम, पर्वत तथा हेम्जा क्षेत्रका सडकबाट ती सवारीसाधन नियन्त्रणमा लिइएको जनाइएको छ ।
सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णु प्रसाद भट्ट ले प्राप्त सूचनाका आधारमा भन्सारसम्बन्धी कागजातमा शंका देखिएकाले सवारीसाधन नियन्त्रणमा लिइएको बताए ।
उनका अनुसार नियन्त्रणमा लिइएका सबै सवारीसाधनका भन्सार कागजात, आयात प्रक्रिया र नेपाल भित्रिएको विवरण सम्बन्धित निकायसँग समन्वय गरेर परीक्षण गरिनेछ । आवश्यक कागजात र प्रक्रिया पूरा भएको पुष्टि भएमा सवारीसाधन फिर्ता गरिनेछ भने कागजात नमिलेको वा अनियमितता भेटिएमा थप अनुसन्धान अघि बढाइनेछ ।
सशस्त्र प्रहरीले ती सवारीसाधन कहिले नेपाल भित्रिएका थिए, कुन प्रक्रियामार्फत आयात गरिएका थिए र भन्सार राजस्व तिरेको विवरण के हो भन्ने विषयमा समेत छानबिन गरिरहेको जनाएको छ ।
यस घटनाले पछिल्लो समय सवारी आयात तथा भन्सार प्रक्रियामाथि निगरानी थप कडा बनाइएको संकेत गरेको छ ।