एथरको नयाँ अपडेट: आवाजबाट स्कुटर नियन्त्रण गर्ने सुविधा

विद्युतीय दुईपांग्रे निर्माता Ather Energy ले आफ्नो स्कुटरहरूमा नयाँ ‘भ्वाइस अन एथर’ सुविधा सबै प्रयोगकर्ताका लागि उपलब्ध गराएको छ ।
यो सुविधा पहिलो पटक २०२५ को Ather Community Day मा घोषणा गरिएको थियो र अहिले कम्पनीले Gen 3 र त्यसपछिका मोडेलहरूमा यसलाई पूर्ण रूपमा रोलआउट गरेको छ ।
यो प्रणाली AtherStack 7 मा आधारित छ र यसले प्राकृतिक भाषा प्रयोग गरेर स्कुटर नियन्त्रण गर्न सक्ने सुविधा दिन्छ । यसलाई स्मार्ट हेल्मेट Ather Halo smart helmet तथा अन्य ब्लुटुथ हेडसेटसँग पनि प्रयोग गर्न सकिन्छ ।
यसमा प्रयोगकर्ताले “नजिकको चार्जर कति टाढा छ ?”, “वर्क जाने ETA कति हो ?” जस्ता प्रश्न सोध्न सक्नेछन् । साथै स्कुटरको सेटिङ परिवर्तन, मिडिया नियन्त्रण, कल व्यवस्थापन र नेभिगेसन जस्ता काम पनि आवाजबाट गर्न सकिनेछ ।
कम्पनीका अनुसार यो प्रविधि भारतीय उच्चारण र स्थानीय बोलिचाली बुझ्न सक्ने ठूलो भाषा मोडेल (LLM) प्रयोग गरेर तयार गरिएको हो ।
एथरका सीईओ तरुण मेहताले सामाजिक सञ्जालमार्फत यो सुविधा Gen 3 र त्यसपछिका मोडेलहरूमा OTA अपडेटमार्फत उपलब्ध भएको पुष्टि गरेका छन् ।
यो सुविधा Ather 450X, Ather 450 Apex र Ather Rizta Z मा उपलब्ध छ । तर Ather 450S र Ather Rizta S मा भने यो सुविधा उपलब्ध छैन ।
कम्पनीले भविष्यमा स्कुटरले आफैं पनि प्रयोगकर्तासँग संवाद गर्न सक्ने “टू–वे कम्युनिकेशन” प्रणाली विकास गर्ने योजना रहेको जनाएको छ ।