BYD को विश्वव्यापी बिक्रीमा पुनरागमन, ८ महिनापछि रोकियो गिरावट

मे महिनामा चिनियाँ विद्युतीय सवारी निर्माता BYD ले विश्वव्यापी बिक्रीमा उल्लेखनीय सुधार गर्दै लगातार आठ महिनादेखिको वार्षिक गिरावटको श्रृंखला अन्त्य गरेको छ । अन्तर्राष्ट्रिय बजारबाट आएको बलियो मागका कारण कम्पनीको बिक्रीमा पुनः वृद्धि देखिएको हो ।

कम्पनीले मे २०२६ मा कुल ३,८३,४५३ वटा न्यू इनर्जी भेहिकल (NEV) बिक्री गरेको जनाएको छ । यो अप्रिल २०२६ को ३,२१,१२३ युनिटको तुलनामा १९.४१ प्रतिशत बढी हो । यस्तै, मे २०२५ को तुलनामा बिक्री ०.२६ प्रतिशतले बढेको छ, जसले गत आठ महिनादेखि जारी वार्षिक बिक्री गिरावटलाई रोक्न सफल भएको छ ।

BYD को सफलतामा वैदेशिक बजार प्रमुख आधार बनेको छ । मे महिनामा कम्पनीको वैदेशिक निर्यात १,६०,६४४ युनिट पुगेको छ, जुन कम्पनीको इतिहासकै उच्च मासिक निर्यात हो । यो गत वर्षको सोही अवधिको तुलनामा ८०.४ प्रतिशतले बढी हो । चीनको आन्तरिक बजारमा माग कमजोर भइरहेका बेला युरोप तथा अन्य अन्तर्राष्ट्रिय बजारबाट आएको मागले कम्पनीको समग्र बिक्रीलाई टेवा दिएको विश्लेषण गरिएको छ ।

नेपालमा पनि BYD प्रति उपभोक्ताको आकर्षण बढ्दो छ । कम्पनीको आधिकारिक वितरक Cimex Inc. ले हाल Atto 1, Atto 2 र Atto 3 लगायत मोडेल बजारमा ल्याएको छ । विशेषगरी Atto 3 र Dolphin नेपाली ग्राहकबीच लोकप्रिय मोडेलका रूपमा स्थापित भइसकेका छन् ।

यता, नेपाल सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विद्युतीय सवारीको कर निर्धारण प्रणालीमा परिवर्तन गर्ने घोषणा गरेपछि EV बजारमा नयाँ बहस सुरु भएको छ । अब मोटर क्षमताभन्दा गाडीको मूल्यलाई आधार बनाएर कर गणना गरिने प्रस्तावले BYD लगायत विभिन्न ब्रान्डका विद्युतीय सवारीको मूल्य र बजार रणनीतिमा प्रभाव पार्न सक्ने अनुमान गरिएको छ ।

विश्व बजारमा बिक्री सुधार र नेपालमा बढ्दो चासोका बीच BYD आगामी महिनाहरूमा पनि नेपाली EV बजारको प्रमुख प्रतिस्पर्धी ब्रान्डका रूपमा रहने अपेक्षा गरिएको छ ।