चीनको ईभी आँधीः विश्व अटो उद्योगमाथि बढ्दो दबाब
चीनको विद्युतीय सवारी (ईभी) विस्तार अहिले विश्व अटो उद्योगकै सबैभन्दा ठूलो चर्चाको विषय बनेको छक। अप्रिल महिनामा मात्रै चीनको ईभी निर्यात करिब ४० प्रतिशतले वृद्धि भएको रिपोर्ट सार्वजनिक भएपछि विश्व बजारमा चिनियाँ ब्रान्डको प्रभाव झन् स्पष्ट देखिन थालेको हो ।
विशेषगरी एशियाली बजारमा चिनियाँ ईभीको माग तीव्र रूपमा बढिरहेको छ भने युरोपले पनि व्यापारिक अवरोध र अतिरिक्त कर लगाउँदासमेत ठूलो संख्यामा चिनियाँ गाडी आयात गरिरहेको छ। यसले चीन अब केवल उत्पादन केन्द्र मात्र नभई विश्व अटो बजारको नयाँ शक्ति बनेको संकेत दिएको छ ।
चिनियाँ कम्पनीहरूको सबैभन्दा ठूलो ताकत भनेको कम मूल्यमा आधुनिक प्रविधिसहित गाडी उपलब्ध गराउनु हो। छिटो उत्पादन क्षमता, आक्रामक विस्तार रणनीति र प्रतिस्पर्धात्मक मूल्यका कारण धेरै उपभोक्ता अहिले चिनियाँ ईभीतर्फ आकर्षित भइरहेका छन् ।
यसको प्रत्यक्ष दबाब भने परम्परागत अटो निर्माता कम्पनीहरूमा देखिन थालेको छ। कुनै समय विश्व बजारमा प्रभुत्व जमाएका कम्पनीहरू अहिले बजार हिस्सा जोगाउन संघर्ष गरिरहेका छन्। विभिन्न देशहरूले चिनियाँ ईभी रोक्न भन्सार शुल्क बढाउने, नियम कडा बनाउने जस्ता कदम चालिरहेका छन्, तर त्यसले निर्यातको गति खासै रोक्न सकेको देखिँदैन ।
चीनले पहिले नै विश्व ईभी उत्पादनमा आफ्नो बलियो पकड बनाइसकेको छ। अब निर्यातमा पनि तीव्र वृद्धि देखिन थालेपछि विश्व अटो उद्योग नयाँ मोडमा पुगेको विश्लेषण हुन थालेको छ ।
अहिलेको अवस्था हेर्दा चीन अब ‘अन्डरडग’ होइन, बरु विश्व अटो उद्योगको गति निर्धारण गर्ने शक्तिका रूपमा उभिएको देखिन्छ। अब अन्य अटो कम्पनीहरूका लागि सबैभन्दा ठूलो प्रश्न यही बनेको छ— चीनलाई पछ्याउने कि प्रतिस्पर्धाको दबाबमा थप कमजोर बन्ने ।