हुन्डाईको चर्चित आई २० अब झन् स्मार्ट र हाईटेक, अर्को महिना अनावरण हुँदै
काठमाडौं । दक्षिण कोरियाली अटो निर्माता हुन्डाईले आफ्नो लोकप्रिय प्रिमियम ह्याचब्याक आई२० को चौथो पुस्ताको पहिलो टिजर सार्वजनिक गरेको छ। कम्पनीले नयाँ आई२० लाई आगामी महिना औपचारिक रूपमा अनावरण गर्ने तयारी गरेको हो ।
सार्वजनिक गरिएको टिजर तस्वीरअनुसार नयाँ आई२० मा निकै आकर्षक र आधुनिक डिजाइन देख्न सकिन्छ । कारमा एरोहेड शैलीका एलईडी हेडल्याम्प, वाई-शेप एलईडी डीआरएल तथा ती दुवैलाई जोड्ने एलईडी लाइट बार प्रयोग गरिएको छ, जसले कारलाई भविष्यमुखी लुक दिएको छ ।
इन्टेरियरतर्फ पनि नयाँ आई२० मा उल्लेखनीय परिवर्तन हुने अपेक्षा गरिएको छ । कारमा दुईवटा स्क्रिनलाई समेटिएको कर्भ्ड डिस्प्ले, ३६० डिग्री क्यामेरा तथा उन्नत चालक सहायता प्रणाली एडीएएस (एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम) जस्ता आधुनिक फिचर उपलब्ध हुन सक्ने बताइएको छ ।
पावरट्रेनको कुरा गर्दा, नयाँ आई२० पेट्रोल तथा माइल्ड-हाइब्रिड पेट्रोल इन्जिन विकल्पमा उपलब्ध हुने सम्भावना छ। साथै कम्पनीले पूर्ण विद्युतीय (EV) संस्करणमाथि पनि काम गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
नयाँ पुस्ताको आई२० हालै भारतका सडकहरूमा परीक्षणका क्रममा देखिएको थियो। भारतीय बजारका लागि भने हाल उपलब्ध १.२ लिटर पेट्रोल र १.० लिटर टर्बो-पेट्रोल इन्जिनलाई निरन्तरता दिन सक्ने अनुमान गरिएको छ ।
नयाँ डिजाइन, अत्याधुनिक प्रविधि र सम्भावित विद्युतीय विकल्पका कारण चौथो पुस्ताको हुन्डाई आई २० ले प्रिमियम ह्याचब्याक सेग्मेन्टमा नयाँ प्रतिस्पर्धा सिर्जना गर्ने अपेक्षा गरिएको छ ।