विश्व गाडी उत्पादनमा केही वर्ष सुस्त वृद्धि रहने आउमोभियोको अनुमान
जर्मन अटो पार्टपुर्जा उत्पादक आउमोभियोले आगामी केही वर्ष विश्व सवारी उत्पादनमा निकै सीमित वृद्धि हुने अनुमान गरेको छ । चीनको कमजोर बजार र युरोपमा वृद्धिको सीमित अवसरबीच कम्पनीले छिटो सुधारको अपेक्षा नगरेको हो ।
नोभेम्बर ५ मा रोयटर्ससँग कुरा
गर्दै कम्पनीका प्रमुख कार्यकारी फिलिप भोन हिर्सहाइटले सन् २०२७ बाट सुधार हुने
प्रक्षेपणप्रति सावधानी व्यक्त गरे । उनका अनुसार विश्व बजारमा सुधार आउन चीनको
अवस्था उकासिन आवश्यक छ ।
कम्पनीले सन् २०२७ मा
सेमिकन्डक्टर, मेमोरी र कच्चा पदार्थ महँगिँदा कम्तीमा १ अर्ब युरो अतिरिक्त
लागतको दबाब पर्ने अनुमान पनि गरेको छ । वित्त प्रमुख क्लाउस बाउरले उक्त लागत
आफ्ना ग्राहक कम्पनीबाट उठाउने प्रयास गरिने बताएका छन् ।
यसबीच आउमोभियोको तेस्रो
त्रैमासिक समायोजित सञ्चालन नाफा मार्जिन ३.५ प्रतिशत पुगेको छ । विश्लेषकहरूको
अनुमान ३.१ प्रतिशत थियो । कम्पनीले सन् २०२६ को वित्तीय प्रक्षेपण कायम राखेको छ
।
युरोपमा विस्तारको अवसर सीमित
देखिएपछि कम्पनीले विशेषगरी एसियामा बजार हिस्सा बढाउन र व्यवसाय विविधीकरणमा
ध्यान दिएको छ । आउमोभियो सन् २०२५ मा कन्टिनेन्टलबाट अलग भएको कम्पनी हो ।