नयाँ ईभी कर नीतिको असरः कसैको मूल्य १ करोड ३० लाखले बढ्यो, कसैको १६ लाखले घट्यो
काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विद्युतीय सवारीसाधन (ईभी) मा लागू गरेको नयाँ कर संरचनाले नेपाली अटो बजारमा ठूलो हलचल ल्याएको छ । नयाँ कर व्यवस्थापछि केही ईभीको मूल्य एकैपटक करोड रुपैयाँसम्म बढेको छ भने केही मोडलको मूल्य भने उल्लेखनीय रूपमा घटेको छ ।
नयाँ व्यवस्थाअनुसार अब ईभीमा लाग्ने कर मोटरको पिक पावरको आधारमा नभई गाडीको सीआईएफ (Cost, Insurance and Freight) मूल्यका आधारमा निर्धारण गरिन्छ । साथै अन्तःशुल्क हटाएर स्वच्छ पूर्वाधार लगानी शुल्क लागू गरिएको छ, जसका कारण विभिन्न ब्रान्डले आफ्नो मूल्य पुनः समायोजन गरेका छन् ।
जिली ईएक्स फाइभको मूल्य ३ लाखसम्म बढ्यो
नेपालका लागि जिलीको आधिकारिक वितरक एलआरआर मोटर्सले जिली ईएक्स फाइभको मूल्य वृद्धि गरेको छ ।
कम्पनीले ईएक्स फाइभ म्याक्स भेरियन्टको मूल्य ३ लाख रुपैयाँ बढाएर ७३ लाख रुपैयाँ कायम गरेको छ भने ईएक्स फाइभ प्रो भेरियन्टको मूल्य २ लाख रुपैयाँ बढाएर ६२ लाख रुपैयाँ निर्धारण गरेको छ ।
कम्पनीका अनुसार नयाँ कर नीतिका कारण आयात लागत बढेकाले मूल्य समायोजन गर्नुपरेको हो ।
एमजी एस६ पनि महँगियो
पारामाउन्ट मोटर्सले नेपालमा उपलब्ध एमजी एस६ ईभीको मूल्य २ लाख रुपैयाँ बढाएको छ ।
यसअघि ६९ लाख ९९ हजार रुपैयाँमा बिक्री हुँदै आएको एसयूभीको नयाँ मूल्य ७१ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ ।
सबैभन्दा ठूलो झट्का बीएमडब्लू आईएक्स१लाई
नयाँ कर संरचनाबाट सबैभन्दा बढी प्रभावित प्रिमियम ब्रान्डमध्ये बीएमडब्लू परेको छ ।
लक्ष्मी प्रिमियम मोटर्सका अनुसार बीएमडब्लू आईएक्स१ ई–ड्राइभ२० को मूल्य १ करोड ९९ लाख ९६ हजार रुपैयाँबाट बढेर ३ करोड २९ लाख ९६ हजार रुपैयाँ पुगेको छ । अर्थात् यस मोडलको मूल्य एकैपटक १ करोड ३० लाख रुपैयाँ ले वृद्धि भएको हो ।
कम्पनीले नयाँ कर प्रणालीका कारण आफ्ना अन्य विद्युतीय मोडलको मूल्य पनि संशोधन गरिएको जनाएको छ ।
स्काईवेलमा भने उल्टो प्रभाव, १६ लाखसम्म मूल्य घट्यो
अन्य धेरै ब्रान्डको मूल्य बढिरहेका बेला स्काईवेल ईभीको मूल्य भने उल्लेखनीय रूपमा घटेको छ।
जी मोटर्सले बीई११ लो रेन्ज भेरियन्टको मूल्य १४ लाख रुपैयाँ घटाएर ६५ लाख ९० हजार रुपैयाँ कायम गरेको छ ।
त्यस्तै मिडियम रेन्ज भेरियन्टको मूल्य १५ लाख रुपैयाँ घटेर ७४ लाख ९० हजार रुपैयाँ पुगेको छ भने लङ रेन्ज भेरियन्टको मूल्य १६ लाख रुपैयाँ घटेर ९९ लाख रुपैयाँ कायम गरिएको छ ।
नयाँ कर नीतिले बजारमा मिश्रित प्रभाव
सरकारले लागू गरेको नयाँ कर प्रणालीले उच्च सीआईएफ मूल्य भएका प्रिमियम ईभीलाई बढी महँगो बनाएको छ भने केही ब्रान्डले आफ्नो मूल्य रणनीति परिवर्तन गर्दै बजार प्रतिस्पर्धालाई ध्यानमा राखेर मूल्य घटाउने निर्णय गरेका छन् ।
यससँगै नेपाली ईभी बजारमा मूल्य संरचनामा ठूलो परिवर्तन देखिएको छ । आगामी दिनमा अन्य ब्रान्डहरूले पनि नयाँ कर नीतिअनुसार मूल्य पुनः समायोजन गर्ने सम्भावना रहेको अटो क्षेत्रका जानकारहरू बताउँछन् ।