नेपाल आउन सक्ने Leapmotor C10 को फेसलिफ्ट संस्करण सार्वजनिक, डिजाइनदेखि प्रविधिसम्म ठूलो परिवर्तन
काठमाडौं । चिनियाँ विद्युतीय सवारी निर्माता Leapmotor ले आफ्नो लोकप्रिय मिड-साइज इलेक्ट्रिक एसयूभी C10 को फेसलिफ्ट संस्करणको पहिलो झलक सार्वजनिक गरेको छ । कम्पनीले नयाँ मोडललाई आगामी जुन १६ मा चीनमा औपचारिक रूपमा लन्च गर्ने तयारी गरेको छ ।
फेसलिफ्ट संस्करणमा सबैभन्दा ठूलो परिवर्तन गाडीको अगाडिको डिजाइनमा गरिएको छ । सानो B10 मा प्रयोग गरिएको स्प्लिट हेडलाइट डिजाइन, एलईडी लाइट बार र नयाँ ठाडो हेडलाइट सेटअपले C10 लाई पहिलेभन्दा अझ आधुनिक र आकर्षक बनाएको छ। साथै, नयाँ डिजाइनको बम्परमा बडी कलरको प्रयोग बढाइएकाले यसको प्रिमियम लुक थप निखारिएको छ ।
गाडीको पछाडिको भागमा रहेको फुल–विथ एलईडी लाइट बार भने यथावत राखिएको छ । तर नयाँ २० इन्चको डबल–स्पोक अलोय ह्विलले यसको साइड प्रोफाइललाई अझ आकर्षक बनाएको छ ।
इन्टेरियरमा पनि उल्लेखनीय परिवर्तन गरिएको छ । पुरानो साधारण ड्यासबोर्डको स्थानमा नयाँ लेयर्ड डिजाइन प्रयोग गरिएको छ, जसमा एम्बियन्ट लाइटिङलाई आकर्षक ढंगले समायोजन गरिएको छ । ढोकाको डिजाइन पनि नयाँ बनाइएको छ भने सेन्टर कन्सोलमा दुईवटा स्मार्टफोन राख्न मिल्ने स्थानसहित वायरलेस चार्जिङ सुविधा थपिएको छ ।
प्रविधिका हिसाबले नयाँ C10 मा ठूलो इन्फोटेन्मेन्ट डिस्प्ले, हेड–अप डिस्प्ले र थप परिष्कृत डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर उपलब्ध हुनेछ । अगाडिका सिटमा ‘जिरो ग्राभिटी’ रिक्लाइन फङ्सन र बिल्ट–इन ओटोमन सुविधा दिइएको छ भने पछाडिका यात्रुका लागि फोल्डेबल ट्रे टेबल र अतिरिक्त कप होल्डरको व्यवस्था गरिएको छ ।
कम्पनीले पूर्ण प्राविधिक विवरण सार्वजनिक गरिसकेको छैन । तर चीनमा उपलब्ध पूर्ण विद्युतीय संस्करणमा करिब ३१३ पीएस (२३० किलोवाट) क्षमताको मोटर रहने र कार्यक्षमतामा सुधार गरिने बताइएको छ । रेन्ज एक्सटेन्डर संस्करणमा पनि विद्युतीय मोटरको क्षमता बढाइने अपेक्षा गरिएको छ ।
नेपालको सन्दर्भ
नेपालमा चिनियाँ विद्युतीय एसयूभीहरूको लोकप्रियता तीव्र रूपमा बढिरहेको छ । BYD, Deepal, Geely लगायतका ब्रान्डसँग प्रतिस्पर्धा गरिरहेको Leapmotor ले पनि आफ्नो उपस्थिति विस्तार गर्दै आएको छ ।
यद्यपि कम्पनीले फेसलिफ्ट C10 को नेपाल आगमनबारे कुनै आधिकारिक जानकारी दिएको छैन, चीनमा लन्च भएपछि आगामी महिनाहरूमा यो मोडल नेपाली बजारमा पनि भित्रिन सक्ने अनुमान गरिएको छ । नयाँ डिजाइन, थप प्रिमियम इन्टेरियर र आधुनिक प्रविधिका कारण C10 फेसलिफ्ट नेपाली ईभी बजारमा बलियो प्रतिस्पर्धी बन्न सक्ने अपेक्षा गरिएको छ ।