Newad1
Featured blog image

अब स्कुटरपछि मोटरसाइकलमा पनि बजाजको विद्युतीय दाउ, के ल्याउँदैछ कम्पनी ?

काठमाडौँ । बजाज अटोले आफ्नो पहिलो विद्युतीय मोटरसाइकल आगामी आर्थिक वर्ष २०२७–२८ भित्र सार्वजनिक गर्ने आधिकारिक घोषणा गरेको छ । कम्पनीले पहिलो त्रैमासिक (Q१ FY २७) को वित्तीय नतिजा सार्वजनिक गर्ने क्रममा यो जानकारी दिएको हो । हाल चेतक विद्युतीय स्कुटरमार्फत सफलता हासिल गरिरहेको बजाज अब विद्युतीय मोटरसाइकल सेग्मेन्टमा पनि प्रवेश गर्ने तयारीमा जुटेको छ ।

चेतकको माग उत्पादन क्षमताभन्दा धेरै बढेपछि कम्पनीले यसको मासिक उत्पादन क्षमता ५० हजार युनिटबाट ६० हजार युनिट पुर्‍याउने निर्णय गरेको छ । कम्पनीका अनुसार हाल घरेलु बजारमा हुने कुल कारोबारमध्ये करिब ३० प्रतिशत हिस्सा विद्युतीय सवारीबाट आउन थालेको छ, जसले ईभीप्रति ग्राहकको बढ्दो आकर्षण देखाउँछ ।

बजाजले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार अप्रिल–जुन २०२६ अवधिमा कम्पनीले इतिहासकै उत्कृष्ट त्रैमासिक प्रदर्शन गरेको छ । सञ्चालन आम्दानी ३७ प्रतिशत बढेर १७ हजार २४४ करोड भारतीय रुपैयाँ पुगेको छ भने करपछिको नाफा ४० प्रतिशतभन्दा बढी वृद्धि हुँदै करिब ३ हजार करोड रुपैयाँ पुगेको छ । विद्युतीय सवारी व्यवसायबाट प्राप्त आम्दानी पनि अघिल्लो वर्षको तुलनामा झन्डै दोब्बर भएको कम्पनीले जनाएको छ ।

निर्याततर्फ पनि कम्पनीले पहिलोपटक एकै त्रैमासिकमा ७ लाखभन्दा बढी सवारी निर्यात गर्दै नयाँ कीर्तिमान बनाएको छ । ल्याटिन अमेरिका र अफ्रिकी बजारमा भएको तीव्र वृद्धिले यो उपलब्धि हासिल गर्न मद्दत गरेको कम्पनीको भनाइ छ । विशेषगरी नाइजेरियामा बिक्री उल्लेखनीय रूपमा बढेको छ ।

कम्पनीले पल्सर सिरिजका १२५ सीसीदेखि १६० सीसी मोडलमा नयाँ अपडेट ल्याउने तयारी भइरहेको पनि पुष्टि गरेको छ । साथै केटीएम र ट्रायम्फ ब्रान्डको घरेलु आम्दानी ६० प्रतिशत ले बढेको छ । बजाजको पहिलो विद्युतीय मोटरसाइकल सार्वजनिक भएपछि भविष्यमा यसको नेपाली बजार प्रवेशको सम्भावनालाई पनि चासोका साथ हेरिएको छ । 

footer