ईभी मात्रै होइन, सीएनजीले पनि खोस्यो पेट्रोलको ठूलो बजार
काठमाडौँ । दशकौँदेखि कार बजारको पहिलो रोजाइ बनेको पेट्रोलको वर्चस्वमा निर्णायक धक्का लागेको छ । ग्राहकको रोजाइ एउटै इन्धनमा सीमित नरही नयाँ विकल्पतर्फ फैलिन थालेपछि छिमेकी भारतको प्यासेन्जर भेहिकल बजारले पहिलोपटक फरक समीकरण देखाएको हो ।
अगस्ट २०२६ मा भारतमा बिक्री भएका
प्यासेन्जर भेहिकलमध्ये सीएनजी, हाइब्रिड र इलेक्ट्रिक गाडीको संयुक्त हिस्सा ४२
प्रतिशत पुगेको छ । सोही अवधिमा पेट्रोल गाडीको हिस्सा ४१ प्रतिशतमा सीमित भएको छ
। वैकल्पिक पावरट्रेनको संयुक्त बिक्रीले पेट्रोललाई उछिनेको यो पहिलो अवसर हो ।
एक वर्षअघि भारतीय बजारमा पेट्रोल
गाडीको हिस्सा ४६ प्रतिशत थियो । पछिल्लो एक वर्षमै यसको हिस्सा पाँच प्रतिशत
बिन्दुले घटेको छ । यसको सीधा लाभ सीएनजी र इलेक्ट्रिक गाडीले लिएका छन् ।
सीएनजीले दियो सबैभन्दा ठूलो धक्का
पेट्रोलको बजार हिस्सा घट्नुमा
इलेक्ट्रिक गाडीको वृद्धि मात्रै जिम्मेवार छैन । अगस्टमा सीएनजी गाडीको हिस्सा २५
प्रतिशतको कीर्तिमानी तहमा पुगेको छ । अघिल्लो वर्षको सोही महिनामा यसको हिस्सा २१
प्रतिशत थियो ।
यसले भारतीय ग्राहक सञ्चालन खर्च
घटाउने विकल्पतर्फ तीव्र रूपमा मोडिएको देखाउँछ । पेट्रोलको तुलनामा सीएनजीको
प्रयोग किफायती हुने भएकाले विशेषगरी सहरी ग्राहक, ट्याक्सी सञ्चालक र धेरै दूरी
गाडी चलाउनेहरू यसतर्फ आकर्षित भएका छन् ।
इक्विरस सेक्युरिटिजको रिपोर्टअनुसार
ई–२० पेट्रोल प्रयोगसम्बन्धी ग्राहकको अन्योलले पनि सीएनजी, हाइब्रिड र ईभीतर्फको
आकर्षण बढाउन सहयोग गरेको देखिन्छ । पेट्रोलमा २० प्रतिशत इथानोल मिसाउने
व्यवस्थाले माइलेज, पर्फर्मेन्स र पुराना इन्जिनमा पार्न सक्ने प्रभावबारे प्रश्न
उठेपछि केही ग्राहक वैकल्पिक पावरट्रेनतर्फ मोडिएका हुन् ।
इलेक्ट्रिक कार बिक्री ५२ प्रतिशत बढ्यो
अगस्टमा भारतमा करिब ३० हजार ७००
इलेक्ट्रिक प्यासेन्जर गाडी बिक्री भएका छन् । यो अघिल्लो वर्षको सोही महिनाभन्दा
५२ प्रतिशत बढी हो । कुल प्यासेन्जर भेहिकल बिक्रीमा इलेक्ट्रिक कारको हिस्सा ७.७
प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो हिस्सा ५.९ प्रतिशत थियो ।
यसको अर्थ अगस्टमा भारतमा बिक्री भएका
हरेक १३ वटा नयाँ प्यासेन्जर भेहिकलमध्ये करिब एउटा पूर्ण इलेक्ट्रिक थियो ।
यद्यपि जुलाईमा कायम भएको ८.१ प्रतिशत हिस्साको तुलनामा अगस्टको हिस्सा केही घटेको
देखिन्छ ।
इलेक्ट्रिक सेग्मेन्टमा टाटा मोटर्स
करिब ४३ प्रतिशत बजार हिस्सासहित पहिलो स्थानमा छ । महिन्द्रा एन्ड महिन्द्राले
करिब २१ प्रतिशत र जेएसडब्ल्यू एमजी मोटरले करिब १५ प्रतिशत हिस्सा ओगटेका छन् ।
इलेक्ट्रिक बजारमा नयाँ प्रवेश गरेको मारुती सुजुकीले समेत करिब पाँच प्रतिशत
हिस्सा हासिल गरेको छ ।
टाटा र महिन्द्राको संयुक्त हिस्सा
मात्रै करिब ६४ प्रतिशत पुग्नुले भारतको इलेक्ट्रिक कार बजारमा स्थानीय उत्पादकको
पकड बलियो रहेको देखाउँछ । अर्कोतर्फ, नयाँ कम्पनी र मोडलको प्रवेशले आगामी दिनमा
प्रतिस्पर्धा अझ बढ्ने संकेत गरेको छ ।
नेपालमा पनि पर्न सक्छ सीधा प्रभाव
भारतको पावरट्रेन रणनीतिमा आएको यो
परिवर्तन नेपाली अटो बजारका लागि पनि महत्त्वपूर्ण छ । नेपालमा टाटा, महिन्द्रा,
एमजी, मारुती सुजुकीलगायत भारतमा उत्पादन हुने ब्रान्डको उल्लेख्य उपस्थिति छ ।
भारतीय बजारमा इलेक्ट्रिक र हाइब्रिड
गाडीको उत्पादन मात्रा बढ्दै जाँदा नयाँ मोडल विकास, स्पेयर पार्ट्स उपलब्धता र
उत्पादन लागतमा सुधार आउन सक्छ । त्यसको प्रभाव नेपालमा उपलब्ध हुने मोडल र मूल्य
प्रतिस्पर्धामा समेत देखिन सक्नेछ ।
नेपालमा सीएनजी प्यासेन्जर गाडीको
बजार र आवश्यक पूर्वाधार लगभग नभए पनि भारतमा यसको तीव्र वृद्धि एउटा स्पष्ट
उद्योग संकेत हो । कार निर्माता अब पेट्रोल इन्जिनमा मात्रै निर्भर नरही सीएनजी,
हाइब्रिड र इलेक्ट्रिक पावरट्रेनलाई समानान्तर रूपमा विस्तार गर्न बाध्य हुँदै छन्
।
अगस्टको तथ्यांकले पेट्रोल गाडीको माग समाप्त भएको देखाउँदैन । तर लामो समयदेखि कायम यसको एकल वर्चस्व भने कमजोर भएको पुष्टि गर्छ । भारतबाट नेपाल आउने गाडीको ठूलो हिस्सा पेट्रोलमा आधारित रहेकाले अब त्यहाँ बदलिएको उत्पादन रणनीतिले नेपाली बजारमा समेत थप हाइब्रिड र इलेक्ट्रिक विकल्पको ढोका खोल्न सक्छ ।