आर्कफक्सको नयाँ अल्फा टी७लाई ७२ घण्टामै ३० हजार अर्डर
काठमाडौं । नेपालमा नयाँ विद्युतीय गाडी ब्रान्डका रूपमा प्रवेश गरेको आर्कफक्सले आफ्नो उत्पादन विस्तार गरिरहँदा चीनमा आउन लागेको अर्को एसयूभीले सुरुवातमै ठूलो चासो तानेको छ । लन्च हुनुअघि नै देखिएको ग्राहक प्रतिक्रिया र यसको आकार तथा प्रविधिले नेपाली बजारमा समेत यो मोडलप्रति चासो बढाउन सक्ने देखिन्छ ।
आर्कफक्स अल्फा टी७को प्रि–सेल
खुलाएको पहिलो ७२ घण्टामै ३० हजारभन्दा बढी अर्डर आएको कम्पनीले जनाएको छ ।
चीनमा यसको प्रि–सेल अगस्ट २६ बाट सुरु भएको थियो भने मूल्य सहुलियतपछि १ लाख ३७
हजार ८०० युआनदेखि १ लाख ७४ हजार ८०० युआनसम्म राखिएको छ । सेप्टेम्बर १६ मा यसको
औपचारिक लन्च हुने तयारी रहेको छ ।
अल्फा टी७ मिड–टु–लार्ज एसयूभी हो ।
यसको ब्याट्री इलेक्ट्रिक संस्करणमा ८०० भोल्ट प्लेटफर्म, २२७ किलोवाट मोटर र
अधिकतम ७१५ किलोमिटर सीएलटीसी रेन्ज दिइएको छ । अर्को रेन्ज–एक्सटेन्डेड
संस्करणले ब्याट्रीबाट ३२० किलोमिटर र संयुक्त रूपमा १ हजार ३१५ किलोमिटरसम्म
रेन्ज दिने दाबी गरिएको छ ।
सीएनईभीपोस्टका अनुसार अल्फा टी७
नौवटा रियर–ह्विल ड्राइभ भेरियन्टमा उपलब्ध हुनेछ । केही भेरियन्टमा हुवावे
छ्येनकुन एडीएस ५ प्रो ड्राइभर असिस्ट सिस्टम तथा लाइडारसहित २७ वटा सेन्सिङ उपकरण
प्रयोग गरिएको छ । सबै भेरियन्टमा क्याटलका ब्याट्री सेल प्रयोग गरिएको कम्पनीको
विवरण छ । यद्यपि सेप्टेम्बर १६ को लन्च मिति आर्कफक्सले आफ्नो आधिकारिक च्यानलबाट
अझै घोषणा गरिसकेको छैन ।
आर्कफक्स नेपालका लागि अब अपरिचित नाम
भने होइन । लक्ष्मी मोटरहबले हालै आर्कफक्स टी१ नेपाली बजारमा सार्वजनिक
गरिसकेको छ । कम्प्याक्ट इलेक्ट्रिक क्रसओभर सेग्मेन्टमा आएको टी१पछि ब्रान्डले
नेपालमा आफ्नो उत्पादन दायरा विस्तार गर्ने सम्भावना रहेकाले अल्फा टी७ पनि चासोका
साथ हेरिएको छ ।
अल्फा टी७ आकार, रेन्ज र प्रविधिका
हिसाबले टी१भन्दा निकै माथिल्लो सेग्मेन्टको गाडी हो । यसको लम्बाइ ५ हजार २०
मिलिमिटर र ह्विलबेस ३ हजार ४० मिलिमिटर रहेको छ । नेपाल आयो भने यसले आर्कफक्सलाई
कम्प्याक्ट सेग्मेन्टबाट माथि उठाएर प्रिमियम इलेक्ट्रिक एसयूभी बजारमा पनि प्रवेश
गराउन सक्छ ।
तर अल्फा टी७ नेपाल आउने विषयमा कम्पनी वा नेपालको आधिकारिक वितरकले अहिलेसम्म कुनै घोषणा गरेका छैनन् । त्यसैले यसलाई नेपाल आउने निश्चित मोडलका रूपमा भन्दा टी१पछि आर्कफक्सको सम्भावित अर्को उत्पादनका रूपमा मात्रै हेर्नुपर्ने हुन्छ । चीनमा यसको औपचारिक लन्चपछि मूल्य, उत्पादन योजना र अन्तर्राष्ट्रिय बजार विस्तारबारे थप तस्वीर स्पष्ट हुने अपेक्षा छ ।